हरिपूर्वा – राजनीतिक हानाथापले थिलथिलो बनेको सर्लाहीको हरिपूर्वा नगरपालिकामा एक जना प्रमुख प्रशासकीय अधिकृत राजनीतिक शिकार बन्न पुगेका छन् ।
यहाँ प्रमुख प्रशासकीय शम्भुप्रसाद यादव आइतबार मात्रै कार्यालयमा हाजिर भएका थिए । तर, कार्यालयमा हाजिर भएर फूलमाला अनि अबिर पहिरिएर कार्यभार सम्हालेकै दिन नै यादवको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख १४ गते चलानी नम्बर १६९५ को पत्र अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा कार्यरत शाखा अधिकृत यादवलाई हरिपूर्वाको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाइएको उल्लेख छ । यादव फेरि सोही स्थानमा यथावत् रहने गरी आइतबार चलानी नम्बर १७०७ बाट परिपत्र पठाइएको छ ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा विकास निर्माण र प्रशासनिक काम ठप्प रहेको छ । यस नगरपालिकामा राजनीतिक खिचातानी अत्यधिक छ ।
स्रोतका अनुसार मेयर विनोद साह तेलीले शाखा अधिकृत शम्भुप्रसाद यादवलाई हरिपूर्वामा प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएका थिए । तर, आफ्नो स्वार्थ पूरा नभएपछि यसै क्षेत्रका सांसद समेत रहेका हाल नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवले प्रमुख प्रशासकीय अधिकृत यादवको ३ दिनमै सरुवा गराइदिएका बुझिएको छ ।
हरिपूर्वामा मेयर विनोद साह तेलीसँग बहुमत नहुँदा राजनीतिक सहमती जुटाएर काम गर्न नसक्दा विकास निर्माणका काम ठप्प जस्तै छन् । यसअघिका मेयर शियाराम रायको ५ वर्षे कार्यकाल पनि विवादै–विवादमा बितेको थियो ।