लालबन्दी – उमेर हदका कारण अनिवार्य अवकाश पाएका लालबन्दीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शान्तराम कार्की आइतबारबाट घर फर्किएका छन् ।
उनी लालबन्दीबाट बिदा भएर इटहरीमा रहेको घरतर्फ लागेका हुन् । अघिल्लो वर्ष वैशाख ७ गते लालबन्दीको प्रहरी प्रमुख भएर आएका कार्की केही साताअघि मात्रै गृह मन्त्रालय (गृह सचिव) स्तरको निर्णयबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए ।
उनी आज लालबन्दीमा विभिन्न कार्यालय तथा सामाजिक संघसंस्थाको बिदाई र माया थापेर घर लागेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो । बिहान सुरुमा उद्योग वाणिज्य संघमा बिदाई भेट गर्न पुगेका कार्कीलाई त्यहीँ लालबन्दीका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकी लगायत भएर बिदाई गरे ।
कार्की अवकाश पाएर घर गएपछि इलाका प्रहरी कार्यालय लालबन्दी केही दिनका लागि प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा परेको छ । सर्लाही प्रहरीका प्रमुख (एसपी) नरेशराज सुवेदीले प्रहरी हेडक्वार्टरबाट लालबन्दीका लागि केही दिनभित्रै नयाँ प्रहरी इन्चार्ज पठाइने बताए ।