logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा साप्ताहिक सरसफाई अभियानको शुभारम्भ


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको प्रमुख तथा पछिल्लो समय आकर्षक बसोवासको शहरका रुपमा परिचित लालबन्दी बजारमा शनिबारबाट साप्ताहिक सरसफाई अभियान सुरु भएको छ ।

“सफा शहर, स्वस्च्छ वातावरण हाम्रो अभियान“ भन्ने नाराका साथ लालबन्दी नगरपालिकाले विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी काठमाडौँमा चल्ने बागमती सरसफाई अभियान जस्तै यहाँ लालबन्दी सरसफाई अभियान प्रारम्भ गरेको हो । अब प्रत्येक हप्ताको शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बजार क्षेत्रमा स्वेच्छिक रुपमा आम सर्वसाधारणलाई समेत सहभागी गराई सरसफाई अभियान चलाइने लालबन्दी बजार क्षेत्रमा पर्ने वडा नं. ७ का वडाध्यक्ष तथा नगरको विपद् तथा वातावरण समितिका संयोजक कृष्णकुमार कार्की (गोपाल) ले जानकारी दिए ।

उनका अनुसार शनिबार पहिलो दिन लालबन्दीको मुख्य चोक, डुमडुमेस्थित तरकारी बजारक्षेत्रलगायत ठाउँमा सरसफाई गरिएको छ । लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले उद्घाटन गरेको शनिबारको सरसफाई कार्यमा उपमेयर कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल, वडा नं. ७ का वडाध्यक्ष कार्की, वडा नं. ६ का वडाध्यक्ष लालबहादुर योन्जन, वडा नं. १३ का वडाध्यक्ष शिवकृष्ण वैद्य, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यार्थीलगायत उपस्थित थिए ।

साप्ताहिक सरसफाई अभियानमा जेसीज पनि सहभागी भएको लालबन्दी जेसीजका अध्यक्ष मनोज बख्रेलले बताए । बजार क्षेत्रलाई सफा राख्ने उद्देश्यले अबदेखि शनिबार–शनिबार यसरी सरसफाई अभियान नियमित संचालन हुने लालबन्दी नगरपालिका कार्यालयले जनाएको छ ।