ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१५, सोकनाहमा शुक्रबार पशु सेवा केन्द्रको उद्घाटन गरिएको छ ।
स्थानीय पशुपालक किसानलाई पशु चौपायमा रोगब्याध लाग्दा निःशुल्क रुपमा औषधि उपचारका लागि पशु सेवा केन्द्र खोलिएको हो । त्यहाँ नगरपालिकाले एक जना पशु स्वास्थ्यकर्मी राखेर किसानलाई सेवा दिने बताइएको छ ।
वडा कार्यालय नजिकैको एक घरमा खोलिएको पशु सेवा केन्द्रको मेयर मनोजकुमार आचार्य र वडा नं. १५ का वडाध्यक्ष उमेश चौधरी भएर संयुक्त रुपमा उद्घाटन गरेका छन् । ईश्वरपुर नगरपालिकाले यसअघि नगरकै दुर्गम वडा नं. १२ कालिन्जोर घारिबथानमा पनि पशु सेवा केन्द्र स्थापना गरी स्थानीय पशुपालक किसानलाई सेवा दिने काम भइरहेको छ ।
नगरभित्रका पशुपालक किसानले आफ्ना पशुपंक्षी बिरामी पर्दा उपचारका लागि स्वास्थ्यकर्मी र औषधि खोज्दै भौतारिनु नपरोस् भनी अहिलेसम्म वडा नं. १२ र १५ मा पशु सेवा केन्द्र स्थापना गरिएको मेयर आचार्यले बताए ।