हरिवन – सर्लाहीको हरिवन नगरपालिकाभित्रको सबैभन्दा ठूलो महादेव जनता नमूना माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा ३३ जनाले इच्छा व्यक्त गरेका छन् ।
बुधबार भएको अभिभावक भेलामा अभिभावक, जग्गादाता र शिक्षाप्रेमी मध्यबाट व्यवस्थापन समितिमा रहनका लागि ३३ जना आकांक्षी खडा भएका हुन् । व्यवस्थापन समितिमा ४ जना अभिभावक, २ जना शिक्षाप्रेमी, १ जना वडाका प्रतिनिधि, १ जना उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रधानाध्यापक र १ जना शिक्षक प्रतिनिधि गरी १० जना सदस्य रहन्छन् ।
अभिभावक भेलाबाट चयन गर्नुपर्ने ४ जना अभिभावक र २ जना शिक्षाप्रेमीका लागि ३३ जनाले दावी पेश गरेका विद्यालयले जनाएको छ । यतिधेरै जनाले आकांक्षा राखेपछि बुधबारको भेलाबाट व्यवस्थापन समितिका सदस्य छान्न सकिएन ।
भेलाले सहजीकरण समिति बनाएर छलफलबाटै व्यवस्थापन समितिका सदस्य छान्ने सहमती गरेको छ । विद्यालय रहेको वडा नं. ८ का वडाध्यक्ष प्रज्वल ढुंगाना, नेपाली कांग्रेसका विनोद कार्की, नेकपा एमालेका सीताराम पोखरेल, माओवादी केन्द्रका अर्जुन पन्त, नेकपा एकीकृत समाजवादीका भरत कार्की, शिक्षा अधिकृत रुस स्टालिन चौलागाई र प्रधानाध्यापक जयशंकर सिंह सदस्य रहेको सहजीकरण समिति बनाइएको हो ।
सहजीकरण समितिले दिएको नामावलीमा सबैले सहमति जनाउने भेलाबाट निर्णय भएको छ । व्यवस्थापन समितिको सदस्यमा अभिभावकबाट रामचन्द्र राम, जनार्दन पोखरेल, जयबहादुर कार्की, यादवप्रसाद गौतम, लक्ष्मण निरौला, खली कुजमा, अर्जुन प्रसाद दाहाल, हर्कबहादुर खड्का, जयनारायण चौधरी, मकुन्द प्रसाद बराल, ङमेन्द्र प्रसाद घिमिरे र यमबहादुर भुजेलले चहाना राखेका छन् ।
यस्तै, अभिभावक महिलाबाट पनि ९ जनाको दावी छ । अन्जना कडरिया, दिर्घ लुइटेल आचार्य, मनुमाया मल्ल आले, सरस्वती पोखरेल, स्वस्तिका पोखरेल, यशोदा कुमारी भट्टराई, सरिता घिमिरे विक, रीता मैनाली र सुमित्रा घिमिरे दाहाल व्यवस्थापन समिति सदस्यको आकांक्षी छन् ।
जग्गादाता र शिक्षाप्रेमीबाट व्यवस्थापन समितिमा इच्छा राख्नेहरु घनश्याम मास्के, मोहनकुमार कार्की, सुकदेव कार्की, विप्लव कार्की, निरज खड्का, यज्ञविनोद ढुंगेल, श्यामबाबु कार्की, प्रकाश पौडेल, हरिप्रसाद उप्रेती, कुलबहादुर थपलिया, श्यामकुमार कर्ण र दीपककुमार उप्रेती रहेका छन् । गरिवका छोराछोरी अध्ययन गर्ने नगरकै यस नमूना विद्यालयमा सहमतीबाटै व्यवस्थापन समिति चयन गरेर अझ व्यवस्थित ढंगले विद्यालय संचालन गर्नुपर्नेमा अभिभावकहरुले जोड दिएका छन् ।
हरिवन ८ का वडाध्यक्ष ढुंगानाको अध्यक्षतामा भएको बुधबारको अभिभावक भेलामा मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, हरिवन ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईलगायतको आतिथ्यता रहेको थियो ।