पानी पर्लाजस्तो भई धुम्मिएको सर्लाहीको मौसम ।
लालबन्दी – सर्लाही जिल्लाभरको मौसम अहिले (सोमबार बिहान) धुम्मिएको छ ।
यहाँ गएराति हावाहुरीसहित हल्का वर्षा भएको थियो । लालबन्दी आसपासको क्षेत्रमा भने राति केहीबेर ठूलै पानी पर्यो । आज बिहानदेखि फेरि मौसम मौसम धुम्मिएर पानी पर्लाजस्तो भएको हो । कतैकतै पानी छिट्याइ पनि रहेको स्थानीयले बताएका छन् । लामो प्रतिक्षापछि पानी पर्दा यहाँ धुलो–धुँवाको प्रदुषण कम भएको छ ।
वन क्षेत्रमा लागेको डढेलो पनि निभेको छ । अब एक झर बेस्सरी ठूलो पानी परे यहाँका किसानले खेतबारी खनजोत गरेर मकै रोप्छन् । रातिको पानीपछि पूर्व–पश्चिम हुलाकी सडकसहित अन्य भित्री कच्ची सडकहरुमा तत्कालका लागि धुलो उड्न रोकिएको हाम्रा संवाददाताहरुले जनाएका छन् । मौसममा बद्ली आउँदा यस क्षेत्रमा गर्मी पनि कम भएको छ ।
राति केहीबेर हावाहुरी आएर मेघगर्जन हुँदा यस क्षेत्रमा अवरुद्ध भएको विद्युत् केहीघण्टापछि सबैतिर सूचारु भइसकेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रहरुले जनाएका छन् ।