पानी नपर्दा सुक्खा देखिएको सर्लाहीको परवानिपुर गाउँ । (तस्बीर : जनार्जन/उज्यालो)
मलंगवा – सर्लाहीसहित तराई क्षेत्रमा खडेरी लम्बिँदा जनजीवन प्रभावित बनेको छ ।
यहाँ पानी नपरेर अत्यधिक गर्मी हुँदा दैनिकी नै प्रभावित बन्न थालेपछि स्थानीय आकाशे वर्षाको प्रतिक्षामा छन् । दिनभरको टन्टलापुर घाम र तातो हावाका कारण मानिसलाई घरबाहिर निस्कन गाह्रो परिरहेको छ ।
बरहथवा नगरपालिका–९, मूर्तियाका चक्रकुमार राउतले यो वर्ष अत्यधिक गर्मी महसुस भएको बताए । “पानी नपरेरै होला यो वर्ष त असाध्य गर्मी छ,” राउतले भने “खडेरीले बाच्नै गाह्रो पा¥र्यो । टन्टलापुर घाम र तातो हावाले गर्दा बाहिर निस्कन सक्ने अवस्था छैन् ।”
अत्यधिक गर्मीका कारण मानिस शिथिल बन्न थालेका छन् । दैनिक मजदुरी गर्नुपर्ने मजदुर र किसानलाई चर्को घाम र तातो हावाले गर्दा बाहिर निस्किएर काम गर्न मुस्किल पर्न थालेको छ ।
पानी नपर्दा सबैतिर सुक्खापन बढेको छ । आकाशे वर्षाको भर पर्नुपर्ने चुरे क्षेत्रका बस्ती झनै उजाड देखिएका छन् ।
चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका–१३, पत्थरकोटका वडाध्यक्ष शिवकृष्ण वैद्यले पानी नपर्दा खेतबारी सबै बाँझो नै रहेको बताए । “वर्षा भइदिए अब किसानले मकै छर्थे, गर्मी पनि कम हुन्थ्यो होला !,” वडाध्यक्ष वैद्यले भने, “हाम्रोतिर वर्षा कुरेरै खेतीबाली लगाउने हो । पानी नपर्दा किसानलाई असाध्य समस्या परिहेको छ ।”
गर्मी र खडेरीले सडक, बजारमा मानिसको आउजाउ पातलिएको छ । वन जङ्गल कम रहेको दक्षिणी सीमावर्ती क्षेत्रका वस्ती र बजारमा अझ बढी गर्मी छ ।
सदरमुकाम मलङ्गवा निवासी नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले गर्मीसँगै लामखुट्टे अत्यधिक लाग्दा दैनिकी कटाउन मुस्किल परिरहेको गुनासो गरेका छन् । पानी नपर्दा यस क्षेत्रमा धुलो, धुँवाको प्रदुषण बढेको छ ।
यहाँका वन क्षेत्रमा लागेको डढेलो फैलिँदै गइरहेको छ । अधिकांश वनका स–साना रुखविरुवा डढेलोले सखाप भइसकेका छन् ।
मानिसमा अहिले आँखा पोल्ने, घाँटी दुख्ने, शरीर आलस्य हुने, रक्तचाप घटबढ हुनेजस्ता गर्मीजन्य स्वास्थ्य समस्या बढेको छ । चिकित्सकले पर्याप्त पानी पिउन, चर्को घाम र हावा चलेका बेला घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।
डाक्टर गुणेश्वर झाले अत्यधिक गर्मी र उच्च तापक्रम रहेकाले अहिले स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा कमजोर रहेका व्यक्तिहरुको अझ बढी ख्याल गर्नुपर्ने बताए ।