logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पहाडी र अधिकारी प्रेस सेन्टरबाट निस्कासित


  • उज्यालो अभियान

लालबन्दी – प्रेस सेन्टर नेपाल सर्लाहीले संगठनका पूर्व जिल्ला अध्यक्ष शंकर पहाडी र सचिव रमेश अधिकारीलाई प्रेस सेन्टरको साधारण सदस्यसमेत नरहनेगरी निस्कासन गरेको छ।

पत्रकारिताको आवरणमा संगठनको विधानविपरितका गतिविधि गर्दै हिँडेको पाइएपछि उनीहरुलाई २ वर्षको लागि संगठनको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ।

संगठनका सर्लाही जिल्ला अध्यक्ष श्रवण थापाको अध्यक्षतामा शुक्रबार बरहथवामा बसेको दोस्रो आकस्मिक बैठकले पहाडी र अधिकारीलाई संगठनको साधारण सदस्यसमेत नरहनेगरी निस्कासन गरेको हो।

यसअघि यहि वैशाख ५ गते प्रेस सेन्टर जिल्ला समितिले उनीहरुबाट भएका अवैध गविविधिका विषयमा तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको थियो।

उनीहरुबाट तोकिएको समयभित्र स्पष्टीकरण प्राप्त नभएपछि संगठनबाट निस्कासन गर्ने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिए।

संगठनको विधान र पत्रकारको आचरण विपरितका गतिविधि गर्दै हिँडेको आरोप लगाउँदै पहाडी नेतृत्वको समितिलाई गएको चैत १ गते नै प्रेस सेन्टर मधेश प्रदेश समितिले विघटन गरेको थियो।

८ चैतमा भएको प्रेस सेन्टरको विशेष जिल्ला सम्मेलनले श्रवण थापाको अध्यक्षतामा १५ सदस्यीय सर्लाही जिल्ला समिति सर्वसम्मत रुपमा गठन गरेको थियो।

पहाडी र अधिकारी स्वयंम् पनि उक्त सम्मेलनमा सहभागी भएका थिए। तर, उनीहरुले सम्मेलनको निर्णयलाई अस्वीकार गर्दै आफैँलाई अध्यक्ष र सचिव दाबी गर्दै आएपछि कारबाही गरिएको प्रेस सेन्टरले जनाएको छ।

विधान अनुसार सम्मेलनबाट गठन भएको समितिलाई अस्वीकार गर्दै उनीहरुले प्रेस सेन्टरको अर्को सम्मेलन गर्ने भन्दै संगठनको छाप र लेटरप्याडको दुरुपयोग गरी चन्दा संकलन गर्दै आएको आरोप थापा पक्षले लगाएको छ।

‘उनीहरुबाट संगठनको विधान र हित भन्दा पनि आफ्नो कुत्सित स्वार्थ पूरा गर्न संगठनको बदनाम गरेको पाइयो,’ पहाडी र अधिकारीलाई कारबाही गरिएको पत्रमा भनिएको छ, ‘तपाईंहरुका गलत क्रियाकलापलाई ध्यान दिँदै संगठनको साधारण सदस्यसमेत नरहनेगरी दुई वर्षको लागि निस्कासन गरिएको छ।’

उनीहरुबाट फेरिपनि संगठनको छाप र लेटरप्याडको दुरुपयोग गरी कुनै पनि गलत क्रियाकला गरेको पाइएमा आवश्यक कानुनी कारबाहीमा जाने निर्णय समेत बैठकले गरेको अध्यक्ष थापाले जानकारी दिए।