मलंगवा – जिल्लाको रामनगर गाउँपालिकामा आगलागीबाट एउटा घर पूर्णरुपमा जलेको छ भने दुईवटा घरमा आंशिक क्षति पुगेको छ ।
रामनगर गाउँपालिका–२, धुर्वा टोल बस्ने अमिचन राय यादवको फुसको घरमा बिहीबार साँझ खाना पकाउनेक्रममा चुल्होबाट आगो सल्किँदा उहाँको र छिमेकी समेतको गरी तीनवटा घरमा क्षति पुगेको हो । आगलागीबाट अमिचन राय यादवको फुसको घर पूर्ण रुपमा जलेको छ । आगोले घरसहित घरभित्र रहेका अन्न, कपडा र अन्य सरसामाग्री जल्दा छ लाख रुपियाँ बराबरको क्षति भएको पीडितलाई उद्वृत गर्दै सर्लाही प्रहरीले जनाएको छ ।
आगलागीबाट छिमेकी सुरेश ठाकुर र विनोद ठाकुरको खपडाले छाएको घरमा आशिंक क्षति पुगेको हो । सुरेशको एक लाख ५० हजार र विनोदको पनि सोही मूल्य बराबरमा क्षति भएको पीडितले बताएका छन् ।
आगलागी गाउँले, प्रहरी र सदरमुकाम मलङ्गवाबाट पुगेको दमकलको सहयोगमा करिव एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनायो ।