लालबन्दी – सर्लाहीसहित तराई क्षेत्रको तापक्रम आज (सोमबारं यस वर्षकै सबैभन्दा धेरै मापन गरिएको छ ।
आज दिउँसो १ बजे सर्लाहीको तापक्रम ४१ डिग्री सेल्सीयस मापन गरिएको हो । यो तापक्रम यस वर्षकै सबैभन्दा धेरै हो । हिजोअस्ती जिल्लाको तापक्रम ३९/४० डिग्री सेल्सीयसको हाराहारीमा हुन्थ्यो ।
आज झनै बढेको हो । चर्को घाम, तातो हावा र उच्च तापक्रमका कारण बाहिर अत्यधिक राप छ । जमिन तातेर सहज रुपमा हिँड्न सक्ने अवस्था छैन् ।
गर्मीले मानिस आहुलब्याकुल भइरहेका छन् । बाहिर निस्किएर काम गर्नुपर्ने मजदुर र खेतबारीको काम गर्नुपर्ने किसान बढी मारमा परेका छन् ।
अहिले गर्मीसँगै धुलो, धुँवाको प्रदुषण पनि उत्तिकै छ । धुलोले गर्दा कच्ची सडकमा हिँड्नै नसक्ने अवस्था छ । यहाँका किसान अहिले आकाशे वर्षाको प्रतिक्षामा छन् ।
सिँचाई सुविधा नरहेको क्षेत्रमा खेतबारी बाँझै रहेकाले उजाड रहेको स्थानीयले बताएका छन् । गर्मी अत्यधिक बढेकाले चर्को घाम लागेका बेला सकेसम्म घरबाहिर ननिस्कन र पर्याप्त पानी पिउन चिकित्सकले सुझाव दिएका छन् ।