लालबन्दी – केही सातादेखि गर्मी बढ्दै जाँदा सर्लाहीसहित तराईका जिल्लामा खरबुजाको व्यापार बढ्न थालेको छ ।
विशेष गरी पूर्व–पश्चिम राजमार्ग दायाँबायाँ खरबुजा राखेर बिक्री गर्नेहरु बढेका छन् । सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका बागमती, नयाँरोड, हरिवन, नवलपुर, लालबन्दीलगायत स्थानमा खरबुजाको व्यापार बढ्न थालेको हो ।
बरहथवा, बयलवास, मलंगवालगायत भित्री भेगका बजारमा पनि आर्थिक अवस्था कमजोर भएकाहरु गर्मीयाम भर धेरथोर आर्जन गर्ने उद्देश्यले खरबुजा बेच्न बसिरहेको देखिन्छ । यहाँको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा खरबुजा प्रतिकेजी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।
तराईमा शित्तलताका लागि खरबुजा किनेर खाने गरिन्छ । लालबन्दी बजारस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा खरबुजा बेच्न बसेका विनोद साहले यही चैत १२ गतेदेखि खरबुजा बेच्न सुरु गरेको बताए ।
साहले गत वर्षजस्तो यस वर्ष खरबुजाको राम्रो व्यापार हुन नसकेको गुनासो गर्नुभयो । “बजारमा आर्थिक मन्दी भएर हामीजस्तो स–साना व्यापारीलाई पनि असर गरेको छ, पोहोर साल झैँ खरबुजाको व्यापार नै छैन्,” साहले भने, “यस्तो गर्मीमा त खरबुजा अत्यधिक बिक्री हुनुपर्ने हो तर भइरहेको छैन् ।”
साहले दैनिक चारदेखि पाँच हजारको खरबुजा बेचिरहेको बताउनुभयो । उहाँले बजारमा अहिले मानिसको चहलपहल नै नदेखिएको बताए ।
सर्लाहीमा पूर्वको सुनसरी, झापालगायत क्षेत्रबाट खरबुजा ल्याएर बिक्री गर्ने गरिन्छ । लालबन्दी बजारमै खरबुजा बेच्न बसेका अर्का व्यापारी सन्तोष साहले पनि यो वर्ष खरबुजा बेचेर टिक्नै गाह्रो परेको गुनासो गरेका छन् ।
उहाँले यो वर्ष खरबुजा बेचेर बचत गर्नै नसकेको गुनासो गरे । “ठूलो पुँजी भएकाले भारतबाट १२ चक्के ट्रकमा १०/२० रुपैयाँ केजीमै किनेर ल्याउँछन्, हामी सानो पूँजी भएकाले त्यसरी ल्याउन सक्दैनौँ, हामीले ती ठूला व्यापारीसँगै किन्ने हो,” साहले भने, “व्यापारीसँग हामी नै ४० रुपैयाँ केजीमा किन्छौँ, भाडा समेत गरेर ४५/५० रुपैयाँ पर्न जान्छ, एक केजीमा १०/१५ रुपियाँ जति राखेर बिक्री गछौँ, त्यसमा पनि व्यापार नै भएको छैन् ।”
उनले दैनिक एक हजारदेखि राम्रो व्यापार हुँदा सात÷आठ हजार रुपैयाँसम्मको खरबुजा बेच्ने गरेको बताए । आफूले खरबुजासँगै भुइँ कटहर प्रतिगोटा २०० रुपियाँले बेच्ने गरेको साहले बताए ।
खरबुजा र भुइँकटहर सिँङ्गै र चाना काटेर पनि बेच्ने गरिन्छ ।