सलेमपुर – सर्लाहीको कविलासी नगरपालिका–९, सलेमपुरमा आगलागी हुँदा ३ वटा परालको टौवा जलेर नष्ट भएको छ ।
सोमबार बिहान ११ बजेतिरबाट सुरु भएको आगलागीले परालको ३ वटा कुन्यु जलेर खरानी भएको हो । आगलागीबाट कविलासी ९ कै कमलेश झाको ८ बिघाको ५० हजार बराबर, जितु रामको १० कठ्ठाको १० हजार बराबर र कविलासी नगरपालिका १० बस्ने अधिन अन्सारीको ३ बिघाको ३० हजार बराबरको पराल जलेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन् । परालको कुन्युमा लागेको आगो स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
सर्लाहीमा केही दिनदेखि दिनहँुजसो आगलागी भइरहेको छ । आगलागी नियन्त्रणका लागि हरिवन नगरपालिकासँग भएको एउटा मात्रै दमकल जिल्लाभर दौडाउनु परिरहेको छ ।
यही दमकल सोमबार नै घुर्कौलीमा जंगल क्षेत्रको डढेलो निभाउन पुगेको छ । मलंगवा नगरपालिकासँग भएको दमकल बिग्रिएर मर्मतका लागि हेटौंडा पठाइएको छ ।
अहिले सुक्खायाम र हावाहुरी चल्ने समयमा आगलागीको अति नै जोखिम हुने भएकाले जथाभावी आगो नबाल्न र आगोजन्य पदार्थको प्रयोग गर्दा अत्यन्तै सावधानी अपनाउन स्थानीय प्रहरी, प्रशासनले आग्रह गरेका छन् ।