बागमती – सर्लाहीको बागमतीमा सम्पन्न नेपाल मगर संघ मधेश प्रदेशको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
शनिबार साँझ सम्पन्न अधिवेशनले महोत्तरीका रुद्र बुर्जा मगर अध्यक्ष रहने गरी २३ सदस्यीय मगर संघ मधेश प्रदेश कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सिरहाका कारिमान पुलामी मगर, मुख्य सचिवमा सर्लाहीका तेजनारायण आले मगर, महिला उपाध्यक्षमा रेणु पुलामी मगर धनुषा र संगिता थापा मगर बारा, सचिवमा मानबहादुर पुलामी मगर सर्लाहीसहित २३ सदस्यीय कार्य समिति चयन भएको हो ।
अधिवेशनको हिजो मगर संघ मधेश प्रदेशका अध्यक्ष यमबहादुर खपांगीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो ।
प्रदेश सभा सदस्य बेची लुंगेली विशिष्ट अतिथि, बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान, मगर संघकै केन्द्रीय महासचिव तेज तारामी मगरलगायत अतिथि रहेको सो कार्यक्रममा मगर जातिको भेषभुषा झल्किने झाँकी प्रदर्शनसहित मगर समुदायको उत्थानमा क्रियाशील व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।