logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपुरका मुसहर महिलाको गुनासो : मिटरब्याज साहुले उठिवास नै लगाए


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुरका मुसहर महिलाले मिटरब्याजबाट आफूहरु अत्यन्तै प्रताडित भएको गुनासो गरेका छन् ।

साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले सोमबार रेडक्रस हरिपुरको सभा हलमा आयोजना गरेको मिटरब्याज न्यूनिकरण तथा सचेतना अभिवृद्धि सम्वन्धी कार्यक्रममा सहभागी स्थानीय मुसहर तथा दलित महिलाले व्यवहार धान्न र औषधि उपचार गर्न ऋण लिएपनि अहिले आएर मिटरब्याजको अन्यायबाट अनेकन समस्या, तनाव र हिंसा भोग्नु परेको गुनासो गरेका हुन् । कार्यक्रममा हरिपुरस्थित मजुर्वाकी संगिता माझी, असन्माकी सुरेखा देवी माझी, पिडारीकी जयकुमारी देवी माझी, जुटपानीकी सन्तरा पासवानलगायतले आफूहरुले मिटरब्याजबाट झेल्नु परेको उदाहरण प्रस्तुत गर्दै महाजनले उठिवासकै अवस्था सिर्जना गरेको गुनासो गरिन् ।

कार्यक्रममा हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियारले मिटरब्याजको समस्या सामाजिक तबरबाट सम्वोधन गर्न नगरपालिका तत्पर रहेको बताए । उनले अनावश्यक ऋण लिई जथाभावी मोजमस्तीमा खर्च नगर्न आग्रह गरे । मेयर पंजियारले मिटरब्याज साहुकरले झुक्याएर धेरैलाई फसाउने, लिएको ऋण भन्दा बढीको कागज बनाउने, डरत्रास देखाउनेजस्ता घटना बाहिर आइरहेकाले ऋण लिँदा जानेबुझेकासँग सरसल्लाह गर्न सुझाव दिए ।

मिटरब्याजको विरुद्ध संघर्षरत् नेकपा माओवादी केन्द्रका नेता एवं मेयरका प्रत्यासी सुनिलकुमार बुढाथोकीले मिटरब्याजी पीडितको कथाव्यथा दर्दनाक रहेको बताए । आफूले लक्ष्मीपुर, फरहदवालगायत ठाउँमा साहुकरलाई समेत सँगै राखेर ऋण मिनाह गर्ने काम गरेको सुनाए । बुढाथोकीले मिटरब्याज पीडित माझी, मुसहर तथा दलित र अन्यको समस्या सुनिदिने कोही नरहेको अवस्थामा आफूहरुले केही वर्षअघिदेखि मिटरब्याजविरुद्धको अभियान नै संचालन गरेको स्मरण गरे ।

कार्यक्रममा साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले स्थानीय सरकारले मिटरब्याजविरुद्ध सचेतना कार्यक्रम संचालन गर्नुपर्ने, पालिकाले वैदेशिक रोजगारीमा जानेलाई वडा स्तरमा घुम्ती कोष खडा गरेर सहुलियत ऋण दिनुपर्ने र न्यायिक समितिले यो समस्या समाधानका लागि समन्वय गर्नुपर्ने जस्ता माग राखे ।

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी नायब निरीक्षक (सई) जितेन्द्रप्रसाद साहले हरिपुरमा करिव ४८ जना पीडित भएको जानकारी आए पनि कार्यालयमा एउटा पनि उजुरी नपरेको बताए । उनले यदि उजुरी आएमा मिटरब्याज साहु र पीडित दुवैलाई राखेर छलफल गराई समस्या समाधान गर्न निर्देशन भई आएको बताएका छन् ।

कार्यक्रममा हरिपुर नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष, दलित अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिलगायतले मन्तव्य राखेका छन् ।