लालबन्दी बजार ।
लालबन्दी – सर्लाहीको मौसम आज (आइतबार) बिहानैदेखि सफा छ ।
यस क्षेत्रमा अस्ती शुक्रबार दिउँसोपख राम्रोसँग आकाशे वर्षा भएको थियो । त्यसपछि भने मौसम सफा भइरहेको हो । पानी परेपछि धुलो–धँुँवाको प्रदुषण कम भएको छ ।
शुक्रबारको वर्षापछि किसान खेतबारीको काममा ब्यस्त छन् । बाँझो रहेको खेतबारी खनजोत गर्ने र मकै छर्ने काममा किसानको ब्यस्तता बढेको हो ।
पानी परेपछि मकै छर्न सुरु गरिएको छ भने छरिएको मकै उम्रिन थालेका छन् । मौसम उघ्रिएपछि केही किसान भने गहुँ थन्काउने, गहुँ काटेर थ्रेसर लगाउने र अन्य दलहन तथा तेलहन हिउँदे बाली थन्काउन लागिपरेका छन् । माटो ओसिलो भएकाले अब वन–जंगल तथा पाखा पखेरीमा पालुवा पलाउने भन्दै पशुपालक किसान खुसी भएका छन् ।
यो वर्ष राम्रोसँग फूलेका आँप, लिचीमा अहिले परेको पानीले राम्रोसँग फल लाग्न मद्धत पुग्ने भएकाले किसान खुसी छन् ।
यसैबीच, शुक्रबार दिउँसोको वर्षापछि सर्लाहीसहित आसपासका क्षेत्रमा बिहान–बेलुका र रातको समयमा चिसो केही बढेको महसुस भइरहेको छ ।