लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाभित्र जग्गा कित्ताकाटको काम अन्तिम चरणमा पुगेको छ ।
नगरपालिकाको तर्फबाट जग्गाको वर्गिकरण गरी नापी कार्यालय हरिवनलाई सिफारिस गरिसकिएको नगरप्रमुख वासुदेव अधिकारीले उज्यालो अभियानसँग बताए । अधिकारीका अनुसार लालबन्दी नगरपालिकाभित्रका जग्गालाई आवास क्षेत्र, खेतियोग्य, औधोगिक क्षेत्र, स्वास्थ्य क्षेत्र, सार्वजनिक जग्गा, वनजङ्गललगायत गरी १० वर्गमा विभाजन गरिएको छ ।
विज्ञ नै नियुक्त गरी जग्गा वर्गिकरणको काम सकेर नगरस्तरीय भू–उपयोग परिषद्ले नापी कार्यालयमा सिफारिस पठाएको हो । स्थानीय तहमा जग्गाको बर्गिकरणको निर्णय गर्न पालिका प्रमुख, वडाध्यक्षलगायत अन्य सरोकारवाला सम्मेलित भू–उपयोग परिषद् हुन्छ । जतिसक्दो चाँडो कित्ताकाटको बाटो खुला गर्न नापी कार्यालयसँग अनुरोध गरिरहेको नगरप्रमुख अधिकारीले बताए ।
नापी कार्यालय हरिवनका प्रमुख छत्रबहादुर लुङ्गेलीले नगरस्तरीय भू–उपयोग परिषद्बाट भएको सिफारिस अनुसार जग्गाको कित्ताकाट खुलाउन बर्गिकरणमा परेका जग्गाको बर्ग छुट्याएर अनलाइनमा प्रवृष्ट गर्ने काम भइरहेको बताए । उनले साँझ–बिहानको समयमा समेत काम गरिरहेको बताए ।
जग्गा कित्ताकाटको सेवा सुरु हुन अझै केही समय लाग्ने नापी कार्यालयले जनाएको छ । नापीले काम सकेपछि श्रेस्ता बनाएर मालपोत कार्यालयमा पनि ‘रेकर्ड’ पठाउनु पर्छ ।
लामो समयदेखि जग्गाको कित्ताकाट बन्द हुँदा जग्गाको कारोवार प्रभावित भइरहेको छ ।