हरिपूर्वा – सर्लाहीको हरिपूर्वामा मेयर विनोदकुमार साह तेलीविरुद्ध प्रदर्शन गर्दै आइरहेको समूहले आज (बुधबार) नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने तयारी गरेको छ ।
मेयर साहको विरुद्धमा उत्रिएका एमाले, माओवादी केन्द्रलगायत दलले नगरपालिका कार्यालय घेराउ गर्दै तालाबन्दी गर्न लागेका हुन् । आन्दोलनको नेतृत्व गरिरहनुभएका विकाउ यादवले आज दिउँसो झाडु–कुचोसहित ¥याली निकालेर नगरपालिका घेराउ गर्न लागिएको जानकारी दिए ।
नगरपालिकाले हरिपूर्वामा रहेको एक मठको जग्गामा नगरपालिका भवन बनाउन लागेको भन्दै संयुक्त सर्वदलिय संघर्ष समितिको नाम दिएर प्रदर्शन हुँदै आएको छ । मुख्यतः मेयर साहविरुद्ध विपक्षी दलले प्रदर्शन गरिरहेका छन् ।
राजनीतिक हानाथाप रहेको यस नगरपालिकामा यो वर्ष अहिलेसम्म योजना सञ्चालन हुन सकेको छैन् । मेयर साहले भने अराजक शैलीमा अनावश्यक प्रदर्शन भइरहेको प्रतिक्रिया दिँदै आएका छन् ।
उनले तत्कालका लागि मठको जग्गामा नगरपालिकाका विभिन्न शाखा राख्नका लागि टहरा बनाउन लागिए पनि अनावश्यक विवाद झिकिएको उनको तर्क छ । हरिपूर्वा नगरपालिका अहिले हरिपूर्वा बजारस्थित मेयर साहकै घरमा भाडा तिरेर संचालन भइरहेको छ ।
नगरपालिकाको भवन बनाउन गत वर्ष जग्गा प्राप्त भइसकेको छ । राजनीतिक विवादले नगरमा विकासका कामै हुन नसक्दा हरिपूर्वावासी निराश रहेका छन् ।