logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मुस्लिम संघमा साहदुल्लाह र किसान महासंघमा कोइराला मनोनित


  • उज्यालो अभियान

लालबन्दी – नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ मधेश प्रदेशको संयोजकमा सर्लाहीका शेख शाहदुल्लाह मनोनित भएका छन् ।

नेपाल मुस्लिम संघका महासचिव मोख्तार अहमदले एक विज्ञप्ती जारी गरी कविलासी नगरपालिका–२, पिपरिया निवासी शाहदुल्लाहलाई संघको मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको उल्लेख गरेका हुन् । उनलाई चैत मसान्तभित्र प्रदेश कमिटीलाई पूर्णता दिई केन्द्रलाई जानकारी दिन र आगामी जेठको पहिलो सातासम्म प्रदेश अधिवेशनको तयारीमा लाग्ने जिम्मेवारी दिइएको छ ।

यसैबीच, कांग्रेस निकट नेपाल किसान महासंघको केन्द्रीय तदर्थ समितिमा लालबन्दी नगरपालिका–२, जुटपानी निवासी भवानी कोइराला मनोनित भएकी छन् । पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमकी संरक्षक समेत रहनुभएकी कोइराला महासंघमा १७ जना सदस्य मनोनित हुँदा उनी पनि परेकी हुन् ।

किसान महासंघको सर्लाही जिल्ला अध्यक्षमा भने एक महिनाअघि रानिगन्ज निवासी विष्णुमणि घिमिरे मनोनित भएका थिए ।