दीपक साशंकर/परवानिपुर – सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१६, परवानिपुरमा मंगलबार नयाँ आपचौर खानेपानी तथा सरसफाई आयोजनाको औपचारिक उद्घाटन गरिएको छ ।
एक वर्षअघि देखि नै स्थानीय करिव ८ सय घरधुरीलाई घर–घरमै खानेपानी धारा बनाई पानी वितरण गरिएको उक्त आयोजनाको मंगलबार प्रदेश प्रदेशका खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन सा कलवारले उद्घाटन गरेका हुन् । ‘एक घर एक धारा हाम्रो पहिचान ः सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा हाम्रो अभियान’ भन्ने मूल नारासहित खानेपानी आयोजनाको उद्घाटन गरिएको लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।

यूनिसेफको सहयोग, स्थानीय वासिन्दाको श्रमदान र वडा कार्यालयले विनियोजन गरेको बजेटबाट कालिन्जोर खोलाको मुहानबाट पानी ल्याई स्थानीयलाई घर–घरमै धारा निर्माण गरेर खानेपानी वितरण भइरहेको वडाध्यक्ष थापाले बताए । खानेपानी आयोजनाको उद्घाटन समारोहमा मधेश प्रदेश सभाकी सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, लालबन्दीका निवर्तमान मेयर मानबहादुर खड्कालगायतको आतिथ्यता रहेको थियो ।
लालबन्दी वडा नं. १६ को भोर्लेनी क्षेत्रमा पनि अहिले घरघरमै धारा राखेर पानी वितरणका लागि पाइप बिछ्याउने काम भइरहेको वडाध्यक्ष थापाले बताए । स्थानीय समाजसेवी गोविन्द अधिकारीले स्वागत मन्तव्य राखेका कार्यक्रममा बालबालिकाले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।