logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी बजार क्षेत्रमा राजमार्गको कालोपत्रे बढाइँदै


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी बजार क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग विस्तारको काम भइरहेको छ ।

लालबन्दी बजारको पूर्वी भाग वडा नं. ६ स्थित जनवादी चोक नजिकको बेतिनी पुलदेखि पश्चिमी भाग वडा नं. ७ स्थित डुमडुमे पुलसम्मको मुख्य बजार क्षेत्रको सडक फराकिलो पार्ने काम चलिरहेको हो । सुरज निर्माण सेवा रौतहटमार्फत राजमार्ग विस्तारको काम भइरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

कार्यालयका सुपरभाइजर पुण्यप्रसाद खतिवडाले राजमार्गमा अहिले कालोपत्रे रहेको भागबाट दायाँबायाँ तीन–तीन मिटर चौँडा बढाएर कालोपत्रे गरिने जानकारी दिए । उनका अनुसार कालोपत्रेका लागि अहिले बेस बिछ्याउने काम भइरहेको छ ।

खतिवडाले यही महिनाभित्र लालबन्दी बजार क्षेत्रको करिव १४ सय मिटर राजमार्गको दायाँबायाँ कालोपत्रे थपिसक्ने गरी काम भइरहेको बताए । जिल्लाको सबैभन्दा ठूलो व्यापारिक केन्द्रको रुपमा रहेको लालबन्दी बजारमा पूर्व–पश्चिम राजमार्गमा कालोपत्रेको भाग थोरै हुँदा समस्या रहँदै आएको थियो ।

राजमार्ग विस्तारपछि पैदलयात्रीलाई पैदल हिँड्न र सवारी साधन ओहोरदोहारमा सहजता हुने अपेक्षा गरिएको छ । लालबन्दी बजार क्षेत्रको राजमार्गमा हाल कालोपत्रेको भाग छ मिटर मात्रै छ ।

दायाँबायाँ प्रशस्त ठाउँ रहेको क्षेत्रमा तीन–तीन मिटर र थोरै ठाउँ रहेको क्षेत्रमा दुईदेखि अढाई मिटरसम्म सडक बढाउने काम भइरहेको सडक कार्यालयका सुपरभाइजर खतिवडाले बताए ।