हरिवन – सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले २८ लाख क्विन्टल उखु पेलेर यो वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ ।
गएको पुस ६ गतेदेखि सञ्चालनमा आएको उद्योग २८ लाख ३१ हजार ७०५ क्विन्टल उखु क्रसिङ गरी शनिबार बिहान १ बजेर ४० मिनेटदेखि बन्द भएको हो । उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको थियो । तर उखु खेती नै घटेकाले यो वर्ष पनि लक्ष्यअनुसार क्रसिङ गर्न नपाएको उद्योगले जनाएको छ ।
उद्योगका उखु प्रवन्धक योगनारायण रजकले यस भेगका किसानको खेतमा उखु सक्किएपछि मिल बन्द गरिएको जानकारी दिए । “हामीले यहाँका किसानले ल्याएका सबै उखु पेलेर मिल बन्द गरेका हौँ,” उखु प्रवन्धक रजकले भने, “किसानलाई उखुको भुक्तानी पनि धमाधम गरिरहेका छौँ । फागुन १५ सम्मको झण्डै ८५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।” बाँकी किसानलाई पनि यही चैत महिनाभित्रै सम्पूर्ण भुक्तानी दिइसक्ने उखु प्रवन्धक रजकको दावी छ ।
अन्य चिनी मिलले वर्षौसम्म पनि भुक्तानी नदिएको गुनासो आए पनि इन्दुशंकरले भने किसानको बेलैमा भुक्तानी गर्दै आइरहेको छ । सरकारले यो वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६१० रुपैयाँ कायम गरेको छ । त्यसमा उद्योगीले ५४० रुपैयाँ भुक्तानी दिनुपर्ने छ भने बाँकी ७० रुपैयाँ सरकारले अनुदानबापत उपलब्ध गराउने छ ।
सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह यसअघि नै बन्द भइसकेका छन् । यि दुवै चिनी उद्योगबाट थोरै किसानले भुक्तानी पाए पनि अधिकांश किसान भुक्तानी नपाउँदा निराश भएर बसेका छन् ।