logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

´मुसहर बस्तीको जग्गामा भू–माफियाको गिद्धे नजर, आत्महत्या नै गर्न बाध्य पारे`


  • उज्यालो अभियान

गैर – पुस्तेनीरुपमा रहेको बासस्थानका लागि सघर्ष गर्दै आएका सर्लाहीको कविलासी नगरपालिका–७, गैरका उपेन्द्र धनुकार (मुसहर) लाई भू–माफियाले आत्महत्या गर्न बाध्य पारेको दावी गरिएको छ ।

चार पुस्तादेखि बसोवास गर्दै आएका धनुकारले घर घडेरी छाड्नु परेपछि आत्महत्याको बाटो रोजेको आफन्तको भनाई छ । आइतबार आफ्नो घरमा पासो लगाएको अवस्थामा धनुकारको शव फेला परेको हो ।

धनुकारले केही दिनअघिसम्म भन्थे–‘ज्यान गए जाओस्, तर पुस्ताले रगत पसिनाले बनाएको घर घडेरी छोड्दिन’ तर भू–माफियाको चंगुलमा फसेका उनी अन्तत : ज्यान नै छाडेर जान बाध्य भए । उनको शव पोष्टमार्टम पछि आइतबार दिउँसो आफन्तलाई बुझाइएको प्रहरीले जनायो ।

परिवार र गैरका स्थानीयले धनुकारको शव सडकमा राखेर आइतबार दिउँसोभर नै नवलपुर–मलंगवा सडकमा चक्काजाम गरे । उनीहरुले उचित क्षतिपूर्ति तथा न्यायिक छानविनको माग गरेका छन् ।

कूल ८ कठ्ठा ४ धुर जग्गा रहेको यो बस्तीमा २४ घर मुसहर परिवार वर्षौदेखि बसोवास गर्दै आइरहेका छन् । चार पुस्ताअघि तत्कालिन जमिन्दार मदनकृष्ण प्रसाईले मुसहरहरुलाई बसोवास गर्न दिएको जग्गामा भू–माफियाले गिद्धे नजर लगाएपछि मुसहरहरु चिन्तित बनेका थिए ।

तत्कालिन जमिन्दारले मुसहरहरुलाई बसोवास गर्न दिएको जग्गा २०६७ सालमा अदालतबाट पर्ती जग्गा भनेर लिलाम सकार भएको छ । अदालतको रेकर्ड अनुसार सिर्सियाका रामकैलाश रायसँग जमिन्दार मदनकृष्ण प्रसाईका छोरा मुकुल प्रसाईले ऋण लिएर तिर्न नसक्दा जग्गा लिलाम गरिएको उल्लेख छ ।

अदालतबाट आफ्नो नाममा जमिन आएपछि रायले पटक–पटक गैरको मुसहर बस्तीमा प्रहरीसहितको उपस्थितिमा डोजर लिएर पुग्ने गरेका थिए । तर, त्यहाँका मुसहर समुदायसहित अन्य स्थानीयको अवरोधका कारण प्रहरी पछाडि हट्नु परेको थियो ।

मुसहर समुदाय र रायबीच देखिएको विवाद समाधानका लागि कयौँ पटक पहल भएका छन् । गएको शुक्रबार मात्रै पनि प्रहरी चौकी कविालासीमा यसै विषयलाई लिएर छलफल भएको थियो ।

सो छलफलमा राजनीतिक दबाबमा २४ परिवार मुसहरलाई ७० लाख रुपैयाँ दिने र उनीहरु पुस्तौँदेखि बस्दै आएको जग्गा खाली गर्नुपर्ने सहमती बनेको थियो । तर, त्यो सहमती धनुकारलाई मान्य थिएन् ।

उनी अदालतमा जग्गा लिलाम गर्दा सकार भएको मूल्य आफूहरुले तिरेरै भएपनि जग्गा आफ्नोनाममा हुनुपर्ने अथवा भोगचलन गर्दै आएको जग्गाको कम्तीमा आफूहरुले आधा पाउनुपर्ने अडानमा थिए ।