logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाँके खोलामा पुल निर्माणका लागि बजेट विनियोजन गरिदिन माग


  • उज्यालो अभियान

घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिकाले नगरको उत्तर–पूर्वी भेगस्थित बाँके खोलामा पक्की पुल निर्माणका लागि सडक विभागसँग माग गरेको छ ।

मेयर मनोजकुमार आचार्यले काठमाडौँमा रहँदा सडक विभागलाई पत्र लेख्दै बाँके खोलामा पुल निर्माणको लागि बजेट विनियोजन गरीदिन अनुरोध गरेका हुन् । ईश्वरपुर नगरपालिकाको वडा नं. १२ घारिबथान र छिमेकी जिल्ला महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमारालाई जोड्ने बाँके खोलामा पुल नहुँदा स्थानीय वासिन्दालाई बर्खायाममा खोला वारपार गर्न समस्या छ । ठूलो बाढी आएका बेला वारिपारी आउजाउ नै बन्द हुन्छ ।

ईश्वरपुरका मेयर मनोजकुमार आचार्य ।

सोही समस्यालाई मध्यनजर गरी मेयर आचार्यले यहाँको समस्याबारे उल्लेख गर्दै सडक विभागसँग पुलको माग राखेका हुन् । पत्रमा संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम योजना समावेश गरी आवश्यक बजेट सात करोड रुपैयाँ विनियोजन गरिदिन सिफारिस गरिएको छ ।

पत्रमा ,‘महोत्तरी जिल्लाको बर्दिवासदेखि सर्लाही जिल्लाको कर्मैयासम्म चुरे श्रृंखलाको फेदी भएर परापूर्वकालदेखि संचालनमा रहेको बर्दिवास–कर्मैया भित्ते सडक त्यस क्षेत्रमा बसोवास गर्ने स्थानीयको जिविकोपार्जनसँग जोडिएको रणनैतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण सडक पनि हो ।’ भनी उल्लेख छ ।

मेयर आचार्यले आफू राजधानी पुग्दा हरेक पटक नगरवासी र नगरसँग जोडिएको विषयमा संघीय सरकारलाई घच्घच्याउने काम गरिरहेको उज्यालो अभियानसँग बताए ।