सुखेपोखरी सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर जनता बहमुखी क्याम्पसमा पुनः मतगणना हुने भएको छ ।
हिजो भएको स्ववियु निर्वाचनमा त्यहाँ ७११ मत खसेकोमा मतगणनाका क्रममा ७१२ वटा मतपत्र भेटिएपछि मतपरिणाम घोषणा हुन सकेन । अब आज (सोमबार) फेरि बिहान ९ बजे सर्वपक्षिय बैठक बसेर पुनः मतगणना गरिने भएको हो ।
स्ववियु निर्वाचन अन्तर्गत सुखेपोखरीमा ९७० जना विद्यार्थीमध्ये ७११ जना विद्यार्थीले मतदान गरेका थिए । यहाँमा संयुक्त प्यानल र एमालेको अनेरास्ववियुबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
सभापतिमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका प्रेमराज दाहालले ३५० र अनेरास्ववियुका सन्दीप थापाले पनि ३५० नै मत प्राप्त गरेका छन् ।
दुवै उम्मेदवारले बराबार मत ल्याएको अवस्थामा एउटा मतपत्र बढी भेटिएपछि मतगणना स्थगित गरिएको हो ।