logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिवनमा फोनिजको विधान सम्मेलन सम्पन्न


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा आइतबार आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नीति तथा विधान सम्मेलन सम्पन्न भएको छ ।

शनिबारदेखि सुरु भएको सम्मेलन १३ बुँदे हरिवन घोषणापत्र जारी गर्दै आइतबार साँझ अबेर सम्पन्न भएको हो । फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईको अध्यक्षता तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँरातीको प्रमुख आतिथ्यतामा विधान सम्मेलन समापन भएको फोनिज सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकीले जानकारी दिए ।

सम्मेलनमा भाग लिन विभिन्न जिल्लाबाट आदिवासी जनजाति पत्रकारहरु सर्लाही आइपुगेका थिए । सम्मेलनलाई सम्वोधन गर्दै पर्यटनमन्त्री किराँतीले स्थानीय परिकार तथा सँस्कृतिको जगेर्ना गर्दै देशको पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिए ।

मन्त्री किराँतीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नामकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको उल्लेख गरे । आदिबासी पहिचानको संघर्ष अझै नसकिएको भन्दै उनले ढिलोचाँडो पहिचानको मुद्दा स्थापित हुने विश्वास व्यक्त गरे ।

आदिबासी परिकार तथा संस्कृतिलाई पर्यटक भित्र्याउने प्रमुख आधारको रुपमा विकास गर्न सकिने उनले बताए । फोनिजका अध्यक्ष गजुरधन राईले पनि पहिचानकै आधारमा प्रदेशको नामाङ्कन गराउन फोनिजका तर्फबाट पहलकदमी र साथ सहयोग जारी रहने बताए ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै फोनिजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारको उत्थान र सहभागिता वृद्धिका लागि फोनिजले निरन्तर पहल गरिरहने चर्चा गरे । कार्यक्रममा फोनिजका पूर्व केन्द्रीय अध्यक्ष दण्ड गुरुङ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), बागमती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान र नेपाल पत्रकार महाङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले शुभकामना मन्तव्य राखे ।

यसैबीच, फोनिजको सम्मेलनमा सहभागी हुन आएका पर्यटनमन्त्री किराँतीले आइतबार साँझ नै बागमतीस्थित निर्माणाधीन माछापोखरी (भरत ताल) को अवलोकन गरेका छन् ।

मन्त्री किराँतीले सर्वसाधारणसँगै बोट शयर गरे भने अटो रिक्सामै बसेर तालको वरिपरी र निर्माणाधीन नगर बँगैंचाको समेत अवलोकन गरेका बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानले बताईन् ।