logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिवन नगरस्तरीय वक्तृत्वकलाको उपाधी महादेवलाई


  • उज्यालो अभियान

सन्जु कर्ण / हरिवन – मेरीस्टोप इन्टरनेशनल तथा सुनौलो परिवारले तयार पारेको कार्ययोजना अनुसार शुक्रबार सर्लाहीको हरिवनस्थित महादेव जनता माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।

विद्यालयका किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि ज्ञान दिने उद्देश्यले सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन उक्त कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक धनबहादुर मगरले जानकारी दिए । कार्यक्रममा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीले यौन तथा प्रजनन शिक्षाले किशोरकिशोरीहरुलाई सहिमार्गमा डो¥याउने र सम्भावित स्वास्थ्य समस्या र यौन रोगहरुबाट बचाउने विश्वास व्यक्त गरे ।

नगर–उपप्रमुख हरिमाया घलानले बाबुनानीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र सरसफाई, किशोरावस्थामा हुने परिवर्तन र विकासक्रम तथा अन्य स्वास्थ्य सम्बन्धी समस्याहरुको सवालहरुमा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाहरु र विशेषज्ञहरुलाई स्कुलमा आमन्त्रण गरेर अन्तरक्रिया गर्नाले फाइदा हुने विचार राखिन् । सुनौलो परिवारका अपरेसनल अफिसर मोनिका पौडेलले सम्पूर्ण किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा सूचना तथा जानकारी पाउने अधिकार रहेको र यसैले आफुले पढ्ने ठाउँ विद्यालय, आफुले सेवा लिन जाने स्वास्थ्य संस्थाबाट यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही र स्पष्ट जानकारी प्राप्त गर्नुपर्ने बताईन् ।

हरिवन नगरपालिका भित्रका ६ वटा माविका ११ जना विद्यार्थीले प्रतियोगितामा सहभागीता जनाएका थिए । सहभागी मध्येबाट महादेव जनता नमूना माविमा अध्ययनरत छात्र उत्सव आचार्य प्रथम, सनराइज आवासीय माविमा अध्ययनरत छात्र कुशल सापकोटा द्वितीय, महादेव जनता माविमा अध्ययनरत छात्रा सुजाता खनाल तृतीय तथा मोडेल युरिका एकेडेमीमा अध्ययनरत छात्रा स्वस्तिका पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रथम,द्वितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई ट्रफी र डायरी वितरण गरिएको थियो । विजेताहरूलाई नगर उप–प्रमुख हरिमाया घलान, हरिवन स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरी, शिक्षा शाखा प्रमुख रुस स्टालिन चौलागाईं र पत्रकार जनार्दन पोखरेलले डायरी तथा ट्रफी वितरण गरेका थिए ।

सुनौलो परिवारका अपरेसनल अफिसर मोनिका पौडेलको अध्यक्षतामा आयोजित वक्तृत्वकला प्रतियोगितामा शिक्षा शाखा प्रमुख रुस स्टालिन चौलागाईं, स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरी, सुनौलो नेपाल परिवारको कार्यक्रम संयोजक धन बहादुर मगर लगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए । महादेव जनता माविका सहायक प्रधानाध्यापक गिरिराज रानाले सञ्चालन गरेको कार्यक्रममा शिक्षक गिता घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा मेरीस्टोप्स सेन्टरको स्टल अवलोकन गरिनुका साथै विविध सास्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।