बरहथवा – नेकपा एमाले निकट अखिल नेपाल महिला संघ सर्लाहीको अध्यक्षमा सन्चिता घिमिरे चयन भएकी छन् ।
आइतबार राति अबेर बरहथवामा सम्पन्न संघको तेस्रो जिल्ला सम्मेलनले हरिवनकी घिमिरेको नेतृत्वमा सर्वसम्मत रुपमा ५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । अनेमसंघको नयाँ नेतृत्वका लागि घिमिरेसहित रीता मैनाली र बिभा नेपालले दावी गरेका थिए । तर अन्तिममा घिमिरेको नेतृत्वमा सहमती जुटेको एमाले नेताहरुले बताएका छन् ।
नवगठित अनेमसंघको उपाध्यक्षमा एकाबती देवी चौधरी, सचिवमा बिभा नेपाल, कोषाध्यक्षमा पवित्रा घिमिरे, उप–सचिवमा परमशिला कुशवाहा र मन्जु राउतसहित अन्य सदस्य रहेका छन् । अनेमसंघ सर्लाहीकी अध्यक्ष एवं बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवालको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एवं अनेमसंघ केन्द्रीय सचिवालय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यतामा अनेमसंघको जिल्ला सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा एमाले सर्लाहीकी इन्चार्ज कमलादेवी महतो, जिल्ला अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुरकुमार प्याकुरेल, सचिव केदार खत्री, उप–सचिव प्रकाश थापा र पार्वती विश्वकर्मा, मधेश प्रदेश कमिटीका सदस्य मनोजकुमार देवकोटा, तारा पोखरेल, रेणुका पौडेल, कल्याणी उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।