क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय हरिवनमा आईतबार राती ल्याईएका मतपेटिका बुझ्दै कर्मचारीहरु ।
मलंगवा – प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका ४ वटै निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको काम सोमबार मध्यान्हबाट मात्र सूरु हुने देखिएको छ ।
आईतबार साँझ ५ बजे मतदान सम्पन्न भएपनि मतपेटिका सिल गर्ने, मुचुल्का उठाउने लगायत कार्य गरेर सुरक्षा अधिकारी, उम्मेदवारका प्रतिनिधिहरु सबैको रोहबरमा निर्वचान अधिकृतको कार्यालयमा मतपेटिका ल्याउनै मतदान अधिकृतहरुलाई निकै समय लागेको थियो । क्षेत्रभरीबाट मतदान अधिकृतहरुले एकसाथ मतपेटिकाहरु ल्याउँदा रातभर निर्वाचन अधिकृतको कार्यालय आसपास अस्तव्यस्त बनेको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुलाई मतदान अधिकृतबाट मतपेटिका बुझ्नका लागि सोमबार बिहान ३ बजेसम्म लागेको थियो । मतपेटिका बुझ्ने काम नै राती अबेरसम्म लागेकाले सोमबार बिहान ९ बजेदेखि बल्ल सर्वदलिय बैठक पश्चात मात्र मतगणना सूरु हुने तयारी भईरहेको जिल्ला निर्वाचन अधिकारी निर्मल पोखरेलले जानकारी दिए । ‘मतदान अधिकृतज्यूहरुबाट मतपेटिका बुझ्ने कार्य नै सोमबार बिहान ३ बजेसम्म चलेको थियो’, निर्वाचन अधिकारी पोखरेलले उज्यालो अभियानसँग भने, ‘क्षेत्र नं. १ र ३ मा अलि चाँडै मतगणना सूरु भएपनि २ र ४ मा मध्यान्हबाट मात्र गणना सूरु होला ।’ क्षेत्र नम्बर ३ मा भने यो समाचार तयार पार्दासम्म सर्वदलिय बैठक सम्पन्न भईसकेको छ ।
सर्लाहीमा ४ लाख ७९ हजार ३८ जना मतदाता रहेका छन् । जिल्लामा ३१२ मतदान स्थल अन्तर्गत ६०० मतदान केन्द्रमा मतदान भएको हो । प्रतिनिधि सभाको लागि ६९ जना र प्रदेश सभाको लागि १ सय ३३ जना उम्मेदवार चुनावी दौडमा छन् । २० वटा पालिका रहेको सर्लाहीमा ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।
यस पटकको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । सामान्य बाहेक कुनै अपृय घटना नभएको प्रजिअ गौतमको दाबी छ ।