logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनको दमकल संचालन गर्न बागमती पनि साझेदार


  • उज्यालो अभियान

बागमती – सर्लाहीको हरिवन नगरपालिकाको अग्नी नियन्त्रक अर्थात् दमकल संचालन गर्न बागमती नगरपालिका पनि साझेदार बनेको छ ।

दमकल संचालनमा बागमती नगरपालिकाले वार्षिक ३ लाख रुपैयाँ दिने गरी सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बागमती नगरपालिकाको कुनै पनि क्षेत्रमा आगलागी भएमा अबिलम्ब उक्त क्षेत्रमा दकमल पुर्याउने सहमतीसहित बागमती नगरपालिका पनि साझेदार बनेको हो ।

केही दिनअघि मर्मत संभारमा वार्षिक ३ लाख दिने सम्झौता गर्दै ईश्वरपुर नगरपालिका पनि साझेदार बनिसकेको छ । दमकल हरिवन नगरपालिकाको खर्चमा चलाउनुपर्ने तर जहाँ आगलागी भएपनि नगरकै खर्चमा दौडाउनु पर्दा एउटै नगरपालिकालाई मात्रै आर्थिक भार पर्ने गरेको थियो ।

हरिवन नगरपालिकाले उत्तरी भेगका अन्य पालिकालाई पनि साझेदार बन्न पत्र पठाएको बुझिएको छ । सोमबार हरिवनका मेयर रमेश बुढाथोकी र बागमतीका मेयर भरत थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै, हरिवन नगरपालिकालाई बागमती नगरपालिकाले ७५ हजार घनमिटर अर्थात् ६२ हजार २५० टिपर ग्राबेल बिना कर उपलब्ध गराउने सम्झौता भएको छ । यसैबीच, हरिवन र बागमती नगरपालिकाबीच मिलेर दमकल चलाउने सम्झौता भइरहँदा सदरमुकाम मलंगवा नगरपालिकाको दमकल भने फेरि बिग्रिएको छ ।

वाटर पम्प बिग्रिएकाले वारुणयन्त्र थन्काइएको र मर्मत संभार पछि मात्रै संचालन हुने नगरपालिकाले जनाएको छ । मलंगवाको पुरानो दमकल बिग्रिएर हैरान पारिरहेको छ ।