कौडेना सर्लाहीको कौडेना गाउँपालिकाका युवाले आज (शनिबार) बाट साप्ताहिक रुपमा हाटबजार सरसफाई अभियानको सुरुवात गरेका छन् ।
जिल्लाको दक्षिणी भेगस्थित सदरमुकाम मलंगवादेखि पश्चिमतर्फ पर्ने सो गाउँपालिकाका युवाले फोहोर र दुर्गन्धित रहेका गाउँपालिकाभित्रका हाटबजारको स्वरुप बदल्ने उद्देश्यले पहिलो पटक सरसफाई अभियानको प्रारम्भ गरेका हुन् । युवाको यो अभियानमा प्रहरी र अन्य स्थानीयवासीको समेत सहयोग छ ।
शनिबार पहिलो दिन कौडेना गाउँपालिकाको केन्द्र रहेको हुलाकी राजमार्गस्थित कौडेना बजार क्षेत्रमा सरसफाई गरिएको अभियानका नेतृत्वकर्ता एवं कौडेना गाउँपालिकामा कार्यरत गाउँ प्रहरी धिरोज यादवले जानकारी दिए ।
यादवले यो अभियान अन्तर्गत अब हरेक शनिबार पालिकाभित्रका स्थानीय हाटबजार, सडक र सार्वजनिक स्थल सरसफाई गर्ने आफूहरुको योजना रहेको सुनाए । जिल्लाको दक्षिणी भेगमा यस्ता किसिमका सरसफाई कार्यक्रम बिरलै हुने गरेका छन् ।