logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा लक्ष्मीपूजा हुँदै, सबैतिर बत्तीको झिलिमिली


  • उज्यालो अभियान

लक्ष्मीपूजाको साँझ लालबन्दी बजार क्षेत्रको दृश्य । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – यमपञ्चक अन्तर्गत अहिले साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको आराधना गरेर लक्ष्मी पूजा भइरहेको छ ।

सर्लाहीको सबै क्षेत्रमा धमाधम लक्ष्मी पूजा भइरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । दियो, मैनबत्ती र झिलिमिली बत्तीले सबैतिर उज्यालो छाएको छ ।

विशेष गरी आज घरका झ्याल, ढोका, चोटा, कोठा, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि अहिले साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरिन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआराधना गर्ने चलन छ ।

यसअघि आजै बिहान कुकुर तिहार पनि मनाइएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा सहज हुने धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । आज बिहान कुकुरको पूजा गरेपछि अहिले साँझ नै अर्को तिथि लागिसक्ने भएकोले आजै लक्ष्मीपूजा गर्नुपर्ने नेपाल पञ्चांक निर्णायक समितिले जनाएको छ ।

यस्तै आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गइ स्नान, तर्पण गरेर यमदीप बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका साथ नरक चतुर्दशीमा नुहाउने चलन समेत रहेको छ ।