logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

फूलजाेर खाेलबाट सालको गोलिया बरामद्


  • उज्यालो अभियान

वन गस्ती टोलीले बरामद गरेको काठ । (तस्बीर : उज्यालो अभियान)

घारिबथान – वन गस्ती टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, फूलजोर खोला किनारबाट मंगलबार बिहान सालको गोलिया बरामद गरेको छ ।

तस्करले नजिकैको वनबाट तस्करी गरेर लुकाइ राखेको सालको सात थान गोलिया बरामद भएको हो । सब-डिभिजन वन कार्यालय घारीबाट सहायक वन अधिकृत सत्यदेव यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले फूलजोर खोलाको किनारमा काँसघारीभित्र लुकाइछिपाई राखेको अवस्थामा सालको गोलिया बरामद गरेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

सालका ती गोलिया दुई-चार दिनअघि मात्रै कटान गरेर लुकाएकाे हुन सक्ने वनका एक कर्मचारीले जानकारी दिए । सालका गोलिया नजिकै रहेको फूलजोर बाबा साझेदारी वनबाट कटान गरेर त्यहाँ लगी लुकाई राखेको हुनसक्ने वनका कर्मचारीले आशंका गरेका छन् ।

जिल्लाको घारिबथान, परवानिपुर, पत्थरकोट, नारायणखोला, मूर्तिया, जानकीनगर, घुर्कौलीलगायतका क्षेत्रका वनमा तस्करी बढेको गुनासोपछि गस्ती व्यापक बनाइएको डिभिजन वन कार्यालयले जनाएको छ । त्यसक्रममा झाडी बुट्यान तथा करेसामा लुकाएर राखिएको सालका गोलिया र चिरान फल्ली बरामद भइरहेको कर्मचारीले बताएका छन् ।

जथाभावी रुख कटान र तस्करीका कारण केही वर्षअघिसम्म घना रहेका जिल्लाका अधिकांश वन क्षेत्र उजाड बनिसकेका छन् । वन कार्यालय र उपभोक्ता समितिले प्रभावकारी नियमन नगर्दा तस्करले सालका रुख कटान गर्दा वन क्षेत्र उजाड बन्न पुगेको हो ।