logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आईएमई लुटिएपछि सुरक्षाको माग गर्दै प्रदर्शन


  • उज्यालो अभियान

लुटपाट भएको आइएमइ । (तस्बीर सौजन्य : निरज यादव)

गोडैता – एक आईएमईमा लुटपाट भएपछि शान्ति, सुरक्षाको माग गर्दै सर्लाहीको गोडैता बजारका व्यापारीले शनिबार प्रदर्शन गरेका छन् ।

प्रहरीको नियमित डिउटी राखेर भरपर्दो शान्ति सुरक्षाको व्यवस्था गर्न र बजारमा सीसी क्यामेरा राख्न माग गर्दै व्यापारीले बिहान केही घन्टा बजार बन्द गराई नाराबाजी र टायर बालेर प्रदर्शन गरेका हुन् । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतीय सीमावर्ती क्षेत्र नजिकै पर्ने गोडैता नगरपालिका–८, गोडैता बजारमा लालिगुराँस बहुउद्देश्यीय कृषि सहकारी संस्थाले सञ्चालन गरेको सिटी एक्सप्रेस मनीट्रान्सफरबाट नकाबधारी समूहले शुक्रबार हतियार देखाइ नौलाख ५० हजार रुपियाँ लुटेर लगेका थिए ।

प्रहरीले लुटपाटमा संलग्नको खोजी तीव्र पारेको छ । सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले लुटपाटमा संलग्नको पहिचान भइसकेको र उनीहरुको खोजी चलिरहेको जानकारी दिए ।

गोडैता बजारमा प्रहरी चौकी भए पनि त्यहाँ थोरै जनशक्ति भएकाले भरपर्दो शान्ति, सुरक्षा नरहेको भन्दै स्थानीय र व्यापारीले गुनासो गरेका छन् । गोडैता प्रहरी चौकीमा अहिले प्रहरी नायब निरीक्षक (सई)को नेतृत्वमा सात जना प्रहरी कार्यरत रहेका छन् ।

भूगोल ठूलो रहेकाले प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय बनाइ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा थप प्रहरी परिचालन गर्न आन्दोलित व्यापारी र स्थानीयको माग छ ।