‘मिटरब्याजी’ विरुद्धको उजुरीबारे जिल्ला प्रशासन कार्यालय मलंगवाको सभाहलमा आयोजित अन्तरक्रियामा सहभागिहरु । (तस्बीर : उज्यालो अभियान)
मलंगवा –गृह मन्त्रालयले ‘मिटरब्याज’ सम्बन्धी अपराध नियन्त्रणका लागि गठन गरेको कार्यदलले शुक्रबार सर्लाहीमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।
सह–सचिव डा. भिष्म भुसालको संयोजकत्वमा गठित कार्यदलले जिल्ला प्रशासन कार्यालय मलंगवामा मिटरब्याजी पीडित, सुरक्षा अधिकारी, पालिकाका प्रमुख, नागरिक समाज, संचारकर्मी लगायतसँग अन्तरक्रिया गरेको हो । मिटरब्याजको समस्या के हो र यसको कसरी निराकरण गर्ने ? भन्ने सम्वन्धमा सबै सरोकारवालाबीच अन्तरक्रिया भएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए ।
अन्तरक्रियामा सहभागीले विद्यमान कानून अनुसार पीडक अर्थात् मिटरब्याजी बलिया र पीडित कमजोर रहेको भन्दै कानून नै परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यदलका सदस्यले मिटरब्याजको समस्या समाधानका लागि विशेष गरी पालिकाहरुले अगुवाई लिनुपर्ने तर्क गरेका छन् ।
मिटरब्याजीविरुद्ध सर्लाहीमा भदौ ५ गतेसम्म ४४३ वटा उजुरी परेका छन् । त्यसपछि पनि करिव ५० वटाजति उजुरी परिसकेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । मिटरब्याजी आरोपी सञ्जय साह रौनियार, श्याम परदेशी भन्ने श्यामकृष्ण साह र रामबाबु रायविरुद्ध धेरै उजुरी परेका छन् ।
अन्य केही नयाँ व्यक्तिविरुद्ध पनि उजुरी परेको र त्यसको छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तराईका जिल्लामा विभिन्न व्यक्तिले मिटरब्याज अर्थात् चर्को ब्याजमा ऋण लगानी गरी विपन्न वर्गका मानिसलाई ठगी गर्दै आइरहेका छन् । लिएको ऋण भन्दा दोब्बर÷तेब्बर बढीको तमसुक बनाएर ऋणीले सबै ऋण तिर्दा पनि तमसुक नच्यात्ने बरु उल्टै घरजग्गा लिलाम गरिदिने परिपाटी छ ।