फाइल तस्बीर ।
लालबन्दी – सर्लाहीमा असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ ।
सदरमुकाम मलंगवास्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि गएको वर्ष माघ २५ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यक्रम देशैभर स्थगित गरिएको थियो ।
आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली संकलन र अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुजेलले स्थानीय तह निर्वाचन घोषणा भएपछि माघ २५ गतेदेखि नागरिकता लिएका तर मतदाता नामावलीका लागि फोटो खिच्न र विवरण भर्नबाट छुटेकाहरुले समेत असार १ गते नामावली दर्ता गराउन सक्ने बताएका छन् ।
उनका अनुसार असार १ गतेदेखि मतदाता नामावली दर्तासँगै विवरणमा रहेको त्रुटी सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउन निर्वाचन कार्यालयमा आएर निवेदन दिन सकिने छ । त्यस्तै, पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले समेत नाम दर्ताको लागि आवश्यक प्रमाणसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने व्यवस्था समेत मिलाइएको छ ।
सर्लाहीमा गएको वर्ष माघ २४ गतेसम्म चार लाख ७४ हजार ४३९ जनाको मतदाता नामावलीमा नाम दर्ता भएको छ ।