लालबन्दीको मेयरमा निर्वाचित बासुदेव अधिकारी ।

टंक बहादुर क्षेत्री/लालबन्दी – पार्टी केन्द्रीय सभापति शेर बहादुर देउवाले उम्मेद्वारी फिर्ता र गठबन्धनका उम्मेद्वारलाई समर्थन गर्ने पत्र पठाएपनि त्यसलाई लत्याउँदै चुनावी प्रचारमा होमिएका नेपाली कांग्रेसका उम्मेद्वार बासुदेव अधिकारी लालबन्दी नगरपालिकाको मेयरमा विजयी भएका छन् ।
६९ वर्षीय अधिकारीले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ६० वर्षीय गोविन्द बहादुर महतलाई १ हजार ६७८ मतान्तरले पराजित गरेका छन् । अधिकारीले ९ हजार ५६१ मत ल्याउँदा एमालेका महत ७ हजार ८८३ मा मात्रै सिमित भए । त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच भएको गठबन्धनका मेयर उम्मेद्वार माओवादीका ६३ वर्षीय प्रल्हाद बुढाथोकीको भन्दा त अधिकारीले ३ हजार ३८६ मत बढी ल्याउँदै चुनावी मतपरिणाममा आफूलाई अब्बल सावित गरे ।
कांग्रेस केन्द्रीय सभापति देउवाले अधिकारीको उम्मेद्वारी फिर्ता लिएको भन्दै वैशाख १६ गते जिल्ला निर्वाचन कार्यालय मलंगवा मार्फत निर्वाचन अधिकृतको कार्यालय लालबन्दीमा पत्र पठाएका थिए । उम्मेद्वारी फिर्ताको समय साँझ ५ बजेसम्म रहेको र उक्त पत्र जिल्ला निर्वाचन कार्यालय मलंगवाबाट साँझ ६ बजेर १६ मिनेटमा मात्र निर्वाचन अधिकृतको कार्यालय लालबन्दीको ईमेलमा आएको थियो । लगतै कांग्रेसी नेता कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालय लालबन्दीमा घेराउ तथा नाराबाजी गरे । निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले तोकिएको समयभित्र पत्र नआएकाले उम्मेद्वारी फिर्ता नहुने सूचना प्रकाशित गरेका थिए ।
त्यस्तै वैशाख १९ गतेको मितिमा पार्टीका केन्द्रीय सभापति देउवाले सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई लेखेको अर्को पत्र २० गते सार्वजनिक भयो । जिल्ला सभापतिलाई पठाईएको र क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं लालबन्दी नगरका नगर सभापतिलाई बोधार्थ/कायार्थ समेत गरिएको उक्त पत्रमा देउवाले गठबन्धन तर्फका उम्मेद्वार माओवादीका प्रल्हाद बुढाथोकीलाई समर्थन गरी कांग्रेस उम्मेद्वार अधिकारीको उम्मेद्वारी कायम नरहेको भन्ने आशय सहित सम्पूर्ण कांग्रेस नेता कार्यकर्तालाई गठबन्धनका उम्मेद्वार बुढाथोकीलाई नै जिताउन निर्देशन दिएका थिए ।

उम्मेद्वारी फिर्ताको पत्र आउँदै आक्रोशित बनेका लालबन्दी सहित जिल्लाका कांग्रेसी नेता कार्यकर्ताहरु गठबन्धन उम्मेद्वार माओवादीका प्रल्हाद बुढाथोकीको पछि लाग्न निर्देशन सहितको दोस्रो पत्र आएपछि थप आक्रोशित मात्र बनेनन्, पार्टीभित्र देशव्यापी कायम गुट र उपगुटको प्रथालाई तोड्दै संस्थापन ईतर पक्षका उम्मेद्वार अधिकारीको पक्षमा संस्थापन पक्षकै नेता कार्यकर्ताहरु समेत एकजुट भए । अधिकारी पनि आफूले कुनै हालतमा उम्मेद्वारी फिर्ता नलिने र गठबन्धनका नाममा अन्य पार्टीलाई नसघाउने भन्दै निरन्तर प्रचार प्रसारमा जुटिरहे । अधिकारीको अभियानमा गुटउपगुट नभनी सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ताहरु पछि लाग्दा माहोल कांग्रेसको पक्षमा बन्दै गयो ।
संस्थापन पक्षकै जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले समेत केन्द्रीय सभापतिले पठाएको पत्रलाई वेवास्ता गर्दै अधिकारीको उम्मेद्वारी फिर्ता लिने र गठबन्धनका उम्मेद्वारलाई सघाउने बारेमा मौन बस्दै आधिकारीकै पक्षमा आफूलाई उभ्याए । क्षेत्रीय सभापति हरि लुंगेली अनि संस्थापन पक्षकै निवर्तमान नगर सभापति प्रशान्त आचार्यले समेत अधिकारीको उम्मेद्वारी फिर्ता नभएको र गठबन्धनका नाममा अन्य पार्टीका उम्मेद्वारलाई समर्थन नगर्ने अडान सहित कांग्रेसका उम्मेद्वार अधिकारीको पक्षमा जुटन आव्हान नै गरे ।
त्यसैगरी मौन अवधीको अघिल्लो दिन वैशाख २७ गते लालबन्दी बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त लालबन्दीमा सत्ताधारी दलहरुको तर्फबाट गठबन्धनका मेयर उम्मेद्वार प्रल्हाद बुढाथोकी भएको र उनलाई भोट नदिने एवं नसघाउने कांग्रेसी नेता कार्यकर्ता कार्बाहीको भागिदार हुने भन्दै चेतावनीयुक्त भाषण समेत गरे । प्रचण्डको उक्त भाषणले कांग्रेसी कार्यकर्तालाई आफ्ना उम्मेद्वार अधिकारीलाई जिताउनका लागि एकताबद्ध भएर अगाडी बढ्न झन मलजल पुग्यो ।
यावत परिस्थितीका बावजुद अधिकारी निरन्तर प्रचार प्रसारमा जुटे र केन्द्रीय सभापति देउवाको आशय विपरित उम्मेद्वारी कायम नै राखेर जबर्जस्त जित निकालेरै छाडे । जुन परिणामका लागि अधिकारीलाई कांग्रेसी नेता कार्यकर्ताहरुले ठूलो भरथेग गरेकोमा दुईमत छैन । लालबन्दीको यो परिणामले गाउँ, नगर अनि जिल्ला तहमा अहोरात्र खटिने कार्यकर्तालाई सदासर्वदा ‘दास’ ठान्दै अनावश्यक भारीहरु लाद्ने जुनसुकै पार्टीका केन्द्रीय नेताहरुको प्रवृति विरुद्ध सशक्त प्रतिउत्तर लगाएको मात्र छैन, आगामी दिनका लागि पाठ समेत पढाएको छ ।
लालबन्दीको कमाण्डर बन्दै अधिकारीले मेयरमा आफूले मात्र जितेनन्, उपमेयर कल्पना पाख्रिन सहित ७ जना वडाध्यक्ष समेत जीताए । कम्युनिष्टहरुले ‘लालकिल्ला’ ठान्ने लालबन्दी नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले वडा नम्बर ७, ९, १० र १७ मा गरी ४ वटा वडामा मात्र वडाध्यक्ष हात पारेको थियो । तर यो पटक वडा नम्बर १७ गुमाएपनि २०४७ सालयता कहिल्यै जीत निकाल्न नसकेको वडा नम्बर ३, ४ र ५ सहित ७, ९, १० र १३ नम्बरको वडाध्यक्षमा कांग्रेसी उम्मेद्वारले बाजी मारे ।
अधिकारीले जित्नुमा उनको निष्कलंक छवीले समेत काम गरेको नेपाली कांग्रेस लालबन्दीका युवा नेता नारायण गुर्मछान बताउँछन् । लालबन्दीलाई शैक्षिक ‘हब’ बनाउने काममा होस् वा नगर क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने अभियानको नेतृत्व गर्ने, अन्य विभिन्न सामाजिक कामहरुमा निरन्तर लागिपर्ने, गाउँ गाउँमा घुम्दै जनताका समस्याहरु समाधानका लागि पहल गर्ने, आफूपनि अनियमितता नगर्ने र अरुलाई पनि गर्न नदिने लगायत उनको कार्यशैली अनि आचरणका कारण आम मतदाताले अधिकारीलाई रोजेको जानकारहरु बताउँछन् ।
यसअघिको चुनावमा मेयर र उपमेयर एमालेले जितेको नतिजालाई उल्टाउने मात्र हैन यसवर्ष माओवादी सहितको गठबन्धन उम्मेद्वारलाई समेत पराजित गरेर लालबन्दीको ‘नगरपिता’ बन्न सफल अधिकारी आगामी दिनमा अझ निर्विवाद ढंगले अगाडी बढ्दै नगर र नगरबासीको समृद्धि एवं समुन्नत समाज निर्माण गर्दै आफ्नो साख र कांग्रेस पार्टीप्रति नागरिकको भरोषालाई अझ माथि उठाउने छन् कि, गिराउने छन्, त्यो भने उनकै कार्यशैलीमा निर्भर रहनेमा दुईमत छैन ।