logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

माओवादीबाट निर्वाचित वडाध्यक्ष लामा एमालेमा प्रवेश


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमतीमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष दीपक कुमार लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२०७४ सालको निर्वाचनमा माओवादीबाट बागमती नगरपालिका–२, को वडाध्यक्षमा निर्वाचित लामा पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । लामालाई एमालेका मधेश प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्तले फूलमाला र अविर लगाएर एमालेमा स्वागत गरेका छन् ।

लामाकी श्रीमती सरिता घिसिङ केही साताअघि मात्रै एमालेमा प्रवेश गरेकी थिईन् । घिसिङलाई एमालेले उपमेयरको उम्मेदवार समेत बनाएको छ ।

एमालेमा प्रवेश गरेका वडाध्यक्ष लामा बागमती नगरपालिकाका निवर्तमान मेयर भरत कुमार थापाको विश्वासपात्र मानिन्थे । लामा एमालेमा प्रवेश गरेपछि फेरि पनि माओवादीको तर्फबाट मेयरमा उम्मेदवारी दिएका थापामाथि चूनौति थपिएको छ ।

बागमतीको प्रस्तावित मेयरमा माओवादी केन्द्रले निवर्तमान मेयर थापा र उपमेयरमा निवर्तमान उपमेयर लिलाकुमारी मोक्तानलाई अघि सारेको छ । एमालेले यो पटक बागमतीको मेयरमा टंकबहादुर बस्नेत (गोकुल) लाई उठाएको छ ।

यस्तै, त्यहाँ नेपाली कांग्रेसले मेयरमा सुरज सुवेदी र उपमेयरमा पदम अधिकारी कोइरालालाई उम्मेदवार बनाएको छ ।