logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सरुवा गरिएको एक महिनापछि नारायणखोलामा हाँजिर भए सिनियर अहेब चौधरी


  • उज्यालो अभियान

प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी ।

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेबाट सरुवा गरिएको एक महिनापछि सिनियर अहेब उपेन्द्र चौधरी बल्ल नारायणखोला स्वास्थ्य चौकीमा हाँजिर भएका छन् ।

जिम्मेवारीअनुसार काम नगरेको भन्दै नगरपालिका कार्यालयले गएको फागुन २० गते सिनियर अहेब चौधरीलाई नगरपालिकाकै अति दुर्गम क्षेत्रमा पर्ने वडा नं. १४ नारायणखोलामा सरुवा गरेको थियो । आफ्नो डिउटीको समयमा अस्पतालमा नबसेर पटक-पटक लापरवाही गरेपछि चौधरीलाई नगरपालिकाले सरुवा गरेर नारायणखोला पठाएको हो । एक महिनाअघि नै सरुवा गरिएका चौधरी केही दिनअघि मात्रै नारायणखोला स्वास्थ्य चौकीमा हाँजिर हुन पुगेका हुन् । चौधरी त्यहाँ चैत १५ गते हाजिर भएको स्वास्थ्य चौकीले जनाएको छ ।

सरुवा गरेको धेरै दिनसम्म पनि नारायणखोला नगएपछि नगरपालिका कार्यालयले चौधरीको तलब नै रोकेको थियो । बारम्बार लापरवाही गरेका कारण चौधरीलाई कारवाही स्वरुप नारायणखोला पठाइएको नगरपालिका कार्यालयले जनाएको छ । लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा अझै पनि धेरै नै लापरवाही रहेको त्यहाँ उपचार गर्न पुग्ने बिरामीहरुले गुनासो गर्दै आइरहेका छन् । डिउटीको समयमा स्वास्थ्यकर्मीहरु नभेटिने, भेटिएकाहरुले पनि औषधि उपचारमा खासै ध्यान नदिनेजस्ता लापरवाही रही रहेको बिरामीहरुको गुनासो छ ।

याे पनि पढ्नाेस्

लालबन्दीको प्राथमिक स्वास्थ्य केन्द्र लथालिंग, डिउटीमा भेटिदैनन् स्वास्थ्यकर्मी

उज्यालाे अभियान समाचार प्रभाव : डिउटी नगर्ने लालबन्दीका अहेव चाैधरीलाई नारायणखाेला पठाईयाे