प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी ।
जनार्जन खत्री/उज्यालो अभियान, लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तिपुर निवासी सीतादेवी चौलागाईं बिहीबार बिहान अचानक बेहोस भइ ढलिन ।
उनलाई आफन्तले तत्कालै लालबन्दी–९ मै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए । बिहान ८ बजेतिर उनलाई स्वास्थ्य केन्द्रको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड) पुर्याउँदा त्यहाँ कार्यालय सहयोगी धरी भेटिएनन ।
डिउटी रहेका स्वास्थ्यकर्मी स्वास्थ्य केन्द्र आइपुगेकै थिएनन् । प्राथमिक स्वास्थ्य केन्द्रमा बिहीबार बिहान अ.हे.ब. उपेन्द्र चौधरी र हेल्थ असिष्टेन्ट राजकुमार सिंहको डिउटी थियो ।
आकस्मिक कक्षमा स्वास्थ्यकर्मी नभेटिएपछि बिरामी चौलागाईंका भाई अर्जुन प्रसाद न्यौपानेले मेयर मानबहादुर खड्का, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा लालबन्दी नगरपालिका–९, का वडाध्यक्ष गोपालप्रसाद घिमिरे र स्वास्थ्य केन्द्रमै कार्यरत जनस्वास्थ्य निरीक्षक ध्रुव के.सी. लाई फोन गरे । जनस्वास्थ्य निरीक्षक के.सी. ले तत्कालै स्वास्थ्य केन्द्रका इन्चार्ज सिनियर अ.हे.ब. सुदीप काफ्लेलाई फोन गरेर यसबारे जानकारी गराए ।
त्यसपछि काफ्ले बिहान ९ बजे स्वास्थ्य केन्द्रमा आए र बिरामी हेर्न थाले । डिउटी रहेका अ.हे.ब. उपेन्द्र चौधरी भने बिहान १० बजे मात्रै स्वास्थ्य केन्द्रमा आइपुगे ।
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा यसरी डिउटीमा रहेका स्वास्थ्यकर्मी नभेटिएको यो पहिलो घटना भने होइन । केन्द्रमा बिरामी आएपछि डिउटीमा रहेका स्वास्थ्यकर्मीहरुलाई यसरी नै फोन गरेर बोलाउनुपर्छ ।
सेवाग्राही अर्जुन प्रसाद न्यौपानेले स्वास्थ्य केन्द्रमा असाध्य लापरवाही रहेको उज्यालो अभियानसँग बताए । “इमर्जेन्सी बिरामी लिएर आउँदा कार्यालय सहयोगी समेत भेटिदैनन्, स्वास्थ्यकर्मीहरुलाई त झन फोन गरेरै बोलाउनुपर्ने बाध्यता छ,” न्यौपानेले गुनासो पोख्दै भने,“ अस्पताल जस्तो संवेदनशील ठाउँमा पनि यस्तो लापरवाही छ, समयमै उपचार नपाएर बिरामीलाई तलमाथि केही भयो भने यसको दोषी को ? ।”
आफ्नो डिउटी अवधिमा प्राथमिक स्वास्थ्य केन्द्रमा नभेटिएका अ.हे.ब. उपेन्द्र चौधरीले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले बिहीबार आफ्नो डिउटी बेलुका होला भनेर घरमा नै बस्दा बेलैमा आउन नपाएको र बिहान नै डिउटी रहेको जानकारी पाएपछि तुरुन्त अस्पताल आएको गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् ।
अ.हे.ब. चौधरीमाथि यसअघि पनि पटक–पटक आफ्नो डिउटी अवधीमा स्वास्थ्य केन्द्रमा नबसेको गुनासो आउने गरेको छ । चौधरीलाई स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिले दुई पटक स्पष्टिकरण सोधिसकेको भएपनि उनी सुध्रिएका छैनन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भन्दा तीन गुणा बढी स्वास्थ्यकर्मी र कर्मचारीहरु कार्यरत छन् । जनशक्ति, भवन र उपकरणहरु पर्याप्त हुँदा समेत स्वास्थ्य केन्द्रको सेवा भने दिनानुदिन खस्कँदो छ ।
केन्द्रमा मेडिकल अधिकृत एक जना, स्टाफ नर्स एक जना, हेल्थ असिस्टेन्ट एक जना, अ.हे.ब./सिनियर अ.हे.ब. तीन जना, ल्याब असिस्टेन्ट एक जना र कार्यालय सहयोगी दुई जना गरी नौ जनाको दरबन्दी छ । त्यसमध्ये मेडिकल अधिकृतको पद रिक्त छ ।
केन्द्रमा दरबन्दी रहेको मेडिकल अधिकृत डा.चन्दन चौधरी हाल दुई वर्षे अध्ययन बिदामा छन् । उनी अध्ययन बिदामा बसेको एक वर्ष पुगेको छ ।
हाल केन्द्रमा दरबन्दी बाहेक पनि दुई जना मेडिकल अधिकृत, एक जना हेल्थ असिस्टेन्ट, दुई जना अ.हे.ब, एक जना स्टाफ नर्स, एक जना अनमी, एक जना ल्याब टेक्निसियन, एक जना सह–लेखापाल र चार जना कार्यालय सहयोगी कार्यरत छन् । उनीहरु सबैलाई नगरपालिकाले करारमा नियुक्त गरेर तलब सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।
केन्द्रमा करारमै भएपनि दुई जना मेडिकल अधिकृत अर्थात् एमबीबीएस गरेका डा. हुँदा हुँदै सिनियर अ.हे.ब.लाई इन्चार्जको जिम्मेवारी दिएर चलाइएको छ । लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाकाले कोही पनि चिकित्सक इन्चार्ज बस्न नमानेपछि सिनियर अ.हे.ब.लाई इन्चार्जको जिम्मेवारी सुम्पिएको जनाएको छ ।
स्वास्थ्यकर्मी र कर्मचारीहरु अटेरी भइ मनोमानी गर्दै आइरहेकाले गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकहरु इन्चार्ज बस्न रुचाउँदैनन् । सिनियर अ.हे.ब. सुदीप काफ्लेले आफू पनि बुधबार देखि मात्रै इन्चार्जको जिम्मेवारीमा खटिएको उज्यालोसँग बताए ।
काफ्ले केन्द्रमा स्वास्थ्यकर्मीहरु पर्याप्त भएपनि आन्तरिक कमी कमजोरी रहेको स्वीकार गर्छन् । त्यस्तै, केन्द्रको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष एवं लालबन्दी नगरपालिका–९, का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेले पनि स्वास्थ्य केन्द्रमा लापरवाही रहेको स्वीकार गर्छन् ।
वडाध्यक्ष घिमिरेले पहिलेको तुलनामा स्वास्थ्य केन्द्रको अवस्था अहिले भने धेरै नै सुधार भएको दावी गरेका छन् । “हामी जनप्रतिनिधि आएपछि अस्पतालको अवस्था त सुध्रिएको छ तर कर्मचारीहरुले लापरवाही गरिदिँदा यस्ता किसिमको समस्या भएको हो,” घिमिरेले भने, डिउटी अवधीमा स्वास्थ्यकर्मी नभेटिएपछि बिरामीहरुले सोझै हामी जनप्रतिनिधिहरुलाई फोन गर्नुहुन्छ, यो सारै दुःखको कुरा हो ।”
लालबन्दी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उज्वल कुमार कार्कीले प्राथमिक स्वास्थ्य केन्द्रको बेथितीबारे कयौँ पटक आवाज उठाएपनि अवस्था नसुध्रिएको बताएका छन् । आफू नै पटक–पटक स्वास्थ्य केन्द्रमा पुग्दा डिउटीमा रहेका कर्मचारी र स्वास्थ्यकर्मी नभेटेको वडाध्यक्ष कार्कीको भनाई छ ।
पहिले–पहिले नगरपालिकाको बैठकमा प्राथमिक स्वास्थ्य केन्द्रबारे निकै छलफल भएपनि पछिल्लो समय कुरा उठ्नै छाडेको कार्कीले बताए । “नगरभित्रको सबैभन्दा ठूलो स्वास्थ्य संस्थाको समस्या र बेथितीबारे कार्यपालिका बैठकमा पटक–पटक कुरा उठेको छ तर अवस्था उस्तै छ, सेवाग्राही आएको बेला स्वास्थ्यकर्मी भेटिदैनन्, हामी जनप्रतिनिधि सेवा लिन जाँदा पनि त्यही हालत हुन्छ,” वडाध्यक्ष भने ।
लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले गल्ती गर्ने स्वास्थ्यकर्मी र कर्मचारी कारवाहीको भागिदार हुने बताएका छन् । “प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सैँ घण्टा सेवा प्रवाह हुने व्यवस्था मिलाएका छौँ, त्यही अनुसार डिउटी तालिका पनि तयार भएको छ,” मेयर खड्काले शुक्रबार बिहान उज्यालो अभियानसँगको कुराकानीमा भने, “यदी डिउटीमा कसैले तलमाथि गरेर लापरवाही गरे कारवाही हुन्छ ।”
मेयर खड्काले बिहीबार सिकिस्त अवस्थाको बिरामी ल्याउँदा स्वास्थ्य केन्द्रमा डिउटीका स्वास्थ्यकर्मी र कर्मचारी नभेटिएको गुनासो आफू समक्ष पनि आएको बताउँदै यसबारेमा इन्चार्जमार्फत लापरवाही गर्ने कर्मचारीलाई स्पष्टिकरण सोध्ने बताएका छन् ।