logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बयलवासमा ४ दिनपछि निषेधाज्ञा हट्याे, मृतक महताेको अन्त्येष्टि गरियाे


  • उज्यालो अभियान

मगलबार दिउँसो सर्लाहीको ईश्वरपुर स्थित बयलवास बजारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भईरहेको झडप । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको ईश्वरपुरमा पाँच दिनअघि प्रहरी भ्यानकाे ठकणकरमा मृत्यु भएका रामकुमार महतोको शवकाे शुक्रबार साँझ अन्त्यष्टी गरिएकाे छ ।

मृतक महतोको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरि शुक्रबार दिउँसो परिवारले बुझेका थिए । परिवारले मृतक मृतक महताेको शव बुझेर शुक्रबार साँझ नै सदरमुकाम मलंगवास्थित झिम नदीमा परम्परा अनुसार अन्त्येष्टि समेत गरेका छन् । परिवारले मृतकको शव बुझेसँगै गएको सोमबारदेखि तनावग्रस्त बनेको बयलबास बजार क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ ।

परिवारले शव बुझेर दाहसंस्कार गरेसँगै स्थानीय प्रशासनले मंगलबार दिउँसो ३ बजेदेखि बयलवास बजार क्षेत्रमा निरन्तर जारी गर्दै आएकाे निषेधाज्ञा आदेश अहिले(शुक्रबार) साँझ ७ बजेबाट हटाएकाे छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले बयलवासकाे अवस्था सामान्य बनेसँगै शुक्रबार साँझबाट निषेधाज्ञा आदेश हटाईएकाे जानकारी दिए ।

बयलवास घटनाबारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति समेत गठन गरेकाे छ । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरले २ नं. प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर, धनुषाका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र प्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

गत आइतवार राती ९ बजेतिर ईश्वरपुर नगरपालिका–७, स्थित नगरपालिका कार्यालय नजिकै गस्तीमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको भ्यानले ठक्कर दिँदा ना. ४३ प ५०१८ नं. मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । बुधबार लालबन्दीमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीबीच भएको छलफलबाट घटनाको सम्वन्धमा अनुसन्धान गर्न समिति गठन गर्ने, मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने लगायत छ बुँदे सहमती भएपछि आन्दोलन भने रोकिएको थियाे । बुधबारको सहमती अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीबार पीडित परिवारलाई १० लाख रुपियाँ राहत उपलब्ध गराइदिन माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

तर दुर्घटनाकाे प्रकृतिबारेकाे लिखित पत्र माथिल्लाे निकायमा पठाउँदा शब्दमा चित्त नबुझेपछि पीडित परिवारले मृतककाे शव बुझ्न नमानेकाे बताईएकाे छ । यद्यपि घटनालाई थप अतिरंजित बनाउन कतिपय राजनैतिक दलका नेताहरुले हदैसम्मकाे प्रयास गरेकाे र जसले गर्दा थप जनधनकाे क्षति अनि तनाब बढेकाे स्थानिय प्रहरी प्रशासनकाे बुझाई छ ।