हरिवन–सर्लाहीसहित तराईका जिल्लाहरुमा आजबाट बाक्लो मात्रामा हुस्सु लागेको छ । हुस्सु लागेर शित झरिरहेकाले चिसो बढ्दा जनजीवन अत्यन्त कष्टकर बनिरहेको जिल्लाको विभिन्न स्थानबाट हाम्रा संवाददाताहरुले जनाएका छन् ।
आज(शुक्रबार) बिहान सर्लाहीको न्यूनतम तापक्रम १२ डिग्री सेल्सीयस मापन गरिएको छ । यो सर्लाहीको यस वर्षकै सबैभन्दा कम तापक्रम हो । बाक्लो हुस्सुका कारण अहिले पूर्व–पश्चिम राजमार्गसहित अन्य भित्री सडकहरुमा सवारी साधन बत्ती बालेर गुडिरहेका छन् । विद्यार्थीलाई विद्यालय जान र किसान तथा मजदुरहरुलाई नियमित मजदुरीमा जान समस्या परेको छ ।
कठ्यांग्रीदो जाडो र चिसो स्याँठले गर्दा मानिसहरुलाई घरबाहिर निस्कनै समस्या पर्न थालेको छ । बालबालिका, अशक्त र शारीरिक रुपमा कमजोर रहेका व्यक्तिहरुलाई चिसोले झनै सताएको छ । जिल्लाका स्थानीय तह र अन्य सरोकारवाला निकायहरुले अहिलेसम्म सर्वसाधारण नागरिकलाई चिसोबाट जोगाउन कुनै पहल गरेका छैनन् । अघिल्ला वर्षहरुमा गाउँपालिका तथा नगरपालिकाहरुले जिल्ला वन कार्यालयसँग समन्वय गरेर दाउरा वितरण गर्ने गरेको भएपनि यस वर्ष अहिलेसम्म कुनै पनि स्थानीय तहले दाउराको प्रवन्ध मिलाएका छैनन् ।