logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा छठ पर्व उल्लासका साथ मनाईयोे


  • उज्यालो अभियान

मलंगवा – शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ पर्व सर्लाहीमा उल्लासका साथ मनाईएको छ । छठ पर्व अन्तर्गत व्रतालुहरुहरुले बुधवार साँझ अस्ताउँदो सूर्य तथा विहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
 
सर्लाहीसहित तराई मधेसका जिल्लाहरुमा छठ पर्वले बुधबार साँझदेखि विहिबार बिहानसम्म उल्लासमय बनाएको थियो । वुधवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरु रातभर नजिकैको पोखरी, नहर, खोला लगायतका स्थानमा बनाइएको छठीघाटमै बसेर बिहिवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

बिहिवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको छ । सर्लाहीमा ४ सय भन्दा बढी स्थानमा छठीघाट निर्माण गरी पूजाआजा भएको थियो । सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका सम्पूर्ण जलाशय एवं उत्तरी क्षेत्रमा समेत बागमती नदी लगायतका जलाशयहरुमा छठघाट बनाईएको थियो ।

छठ पर्व मनाउन जलाशयहरुलाई दूलही झैँ चिटिक्क पारेर सिंगारिएको थियो । त्यहाँ मानिसको भीडभाड तथा छठका गीतसंगितले रौनकता झनै बढाएको विभिन्न स्थानबाट हाम्रा संवाददाताहरुले जनाएका छन् ।

व्रतालुसँगै परिवारका सदस्यहरु पनि नजिकैको सँझिया घाटमा जम्मा भएका थिए । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक छठ पर्व मनाइन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतका सामग्रीहरु चढाईन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवानलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

केही वर्षअघिसम्म तराई मधेसका जिल्लाहरुमा मात्रै मनाइने छठ पर्व अहिले भने काठमाडौं उपत्यकासहित देशका अन्य भू–भागहरुमा पनि भव्य रुपमा मनाउन थालिएको छ । छठ पर्वको अवसरमा वुधवार सरकारले सार्वजनिक बिदा समेत दिएको थियो । विहिबार भने प्रदेश दुई सरकारले बिदा दिएको छ