धनकौल – सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठवा स्थित एक विद्यालयको विवादका क्रममा भएको झडपमा एकजना प्रहरी घाईते भएका छन् ।
जनता मावि हरकठवाका विद्यार्थीहरुको आक्रमणबाट एकजना प्रहरी हबल्दार घाईते भएका छन् । जिल्ला अस्पताल मलंगवामा उपचाररत ती प्रहरी हबल्दारको आँखामाथि टाउकोमा ४ वटा टाँका लगाईएको छ । विद्यार्थीहरुको समूहले ढुंगा प्रहार गर्दा ईलाका प्रहरी कार्यालय हरकठवामा कार्यरत ती प्रहरी हबल्दारको आँखामाथि निधारमा चोट लागेको बताईएको छ ।
उक्त विद्यालयका विद्यार्थीहरुले बुधबार बिहान विद्यालयमा अध्यापन सूरु हुनासाथ हुलदंगा गरेका थिए । विद्यालय व्यवस्थापन समिति गठन नभएको, विद्यालयमा अध्यापन राम्रो नभएको लगायत माग राख्दै विद्यार्थीहरुको समूहले आन्दोलन गरेको थियो । विद्यार्थीहरुको समूहले विद्यालयमै डेस्कबेञ्च, टेबुल लगायत तोडफोड गरेको थियो ।
लगतै विद्यार्थीहरुको समूह धनकौल गाउँपालिका कार्यालयमा गएको थियो । विद्यार्थीहरुले गाउँपालिका काार्यलयमा समेत तोडफोडको प्रयास गरेका थिए । ईलाका प्रहरी कार्यालय बरहथवा, ईलाका प्रहरी कार्यालय हिरापुर, ईलाका प्रहरी कार्यालय हरकठवा र सशस्त्र प्रहरी बेस क्याम्प मनुष्माराको टोलीले घटना नियन्त्रणमा लिएको थियो ।
घटना नियन्त्रणमा लिने क्रममा विद्यार्थीहरुको समूहले गरेको ढुंगामुढाबाट ईलाका प्रहरी कार्यालय हरकठवाका प्रहरी हबल्दार घाईते भएका हुन् । धनकौल गापाका अध्यक्ष रामआश्रय साह, धनकौल गापा वडा नं. ५ का वडाध्यक्ष गजेन्द्र महतो, विद्यालयका प्रधानाध्यापक रामनारायण यादव, सुरक्षाकर्मीका प्रतिनिधिहरु लगायतको छलफलले आगामी कात्तिक ५ गते समस्या समाधान गर्ने सहमति भएको बताईएको छ । घटनाबारे अनुसन्धान एवं थप छानविन भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।