लालबन्दी – सर्लाहीको लालबन्दी १५ का स्थानीय मन्दिर संरक्षणमा जुटेका छन् ।
सो वडाको माथिल्लो देउराली स्थित फुलजोर खोला किनारमा रहेको सिद्देश्वर मन्दिर संरक्षणका लागि समिती बनाएरै स्थानीय मन्दिरको संरक्षणमा जुटेका हुन् । मन्दिर परिसरमा अहिले जमिन सम्याउने काम भएको छ । धार्मिक आस्था बोकेको सो मन्दिर संरक्षणमा कसैले चासो नदिएपछि आफुहरु अघि सरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर खत्री फुयालले बताए । उनका अनुसार मन्दिर पुनर्निर्माणका लागि वडा कार्यालयबाट १ लाख तथा नगरपालिकाबाट ३ लाख बजेट प्राप्त भएको छ । सो रकमले मन्दिरको पुनर्निर्माण गरिने फुयालले बताए ।
फुयालका अनुसार सो मन्दिरमा हरेक वर्ष बाला चतुर्दशीमा मेला लाग्ने गरेको छ । दिवंगत आफन्तको नाममा बत्ती बाल्न त्यहा हरेक वर्ष वरपरकासहित टाढा टाढाका मानिसहरु समेत आउने गरेका छन् । स्थानीय रामजी खड्काका अनुसार भाकल पुरा हुने भएकोले गौरीशंकर, सागरनाथ खयरमारा लगायतका स्थानबाट समेत मानिसहरु दर्शनका लागि त्यहाँ आउने गरेका छन् । तर मन्दिरको संरक्षणमा भने कसैले चासो नदिँदा यसको महत्व घट्दै गएकोले आफुहरु अहिले मन्दिरको संरक्षणमा जुटेको उनले बताए ।
मन्दिरको नाममा रहेको ७ कठ्ठा ९ धुर जग्गा समेत अतिक्रमणमा परेको भन्दै अर्का स्थानीय युवा खड्ग बहादुर कार्कीले मन्दिरको अतिक्रमित जग्गा फर्काउन प्रयास भैरहेको बताए । मन्दिर निर्माणका लागि प्रदेशदेखि माथिल्लो निकायसम्म पहल भईरहेको बताउदै उनले धार्मिक सपम्दाहरुको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।