केही दिनअघि जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएका अभियुक्त । बाल सुधार गृह पठाउन आदेश भएका कृष्ण साह (बायाँ) । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जकी प्रियंका भुजेलको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना अभियुक्तमध्ये कृष्ण साहलाई पूर्पक्षमा बाल सुधार गृह पठाउन अदालतले आदेश दिएको छ ।
वुधवार सर्लाही जिल्ला अदालतका मुख्य न्यायाधीश ध्रुव कुमार पियाको इजालासमा भएको थुनछेक बहसपछि १७ वर्षीय साहलाई अन्तिम फैसला नहुन्जेल पूर्पक्षमा बाल सुधार गृहमा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि प्रहरीले उनलाई खाली रहेको बाल सुधार गृह खोजी गरेर पठाउने तयारी गरेको छ ।
१४ वर्षीया बालिका प्रियंकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले रानिगन्जकै १७ वर्षीय कृष्ण साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुविरुद्ध जवरजस्तीकरणी र कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । नाबालकको हकमा २१ दिनभित्र सम्पूर्ण अनुसन्धान सकेर अदालतमा पेश गरिसक्नु पर्ने कानुनी प्रावधान अनुसार लालबन्दी प्रहरीले कृष्णलाई वुधवार अदालतमा पेश गरेको हो ।
जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्यालले उज्यालो अभियानका समाचार प्रमुख जनार्जन खत्रीसँगको कुराकानीमा नाबालक भएकाले नेपालको कानुन अनुसार अभियुक्त साहले दुई तिहाई सजाय मात्रै भोग्नुपर्ने बताए । यस्तै, १८ वर्ष कटेकालाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएकाले अर्का अभियुक्त अनिस दाहाललाई पनि केही दिनभित्रै अदालतमा पेश गरिने प्रहरीले जनायो ।
दाहाल अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा छन् ।
रानिगन्ज डाँडाटोल बस्ने राजेश भुजेलकी १४ वर्षीया छोरी प्रियंकाको यही भदौ १ गते राती लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा गाडिएको अवस्थामा शव फेला परेको थियो । प्रियंका साउन ३१ गते राती साँढे ११ बजेतिर घरबाटै बेपत्ता हुनुभएको थियो । अनिस र कृष्णले प्रियंकाको हत्या गरेको स्वीकार गरेका छन् ।