भारतमा अलपत्र परेकालाई घर फर्काइदिन माग गर्दै गाउँपालिका घेराउ

1


जनार्जन खत्री/चन्द्रनगर – भारतमा अलपत्र परेका घरमुलीलाई घर फर्काइदिन माग गर्दै मुसहर समुदायले बिहिवार सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।
कमाएर खुवाउने घरमुली लकडाउन अर्थात बन्दाबन्दीले भारतमा धेरै दिनदेखि अलपत्र परेपछि चन्द्रनगरका दलित मुसहर समुदायले गाउँपालिका कार्यालय घेराउ गरेका हुन् । केही हप्ताअघि भारतीय सुरक्षाकर्मीले दशगजास्थित लखन्देही खोलामा ठूलो सङ्ख्यामा नेपालीहरुलाई ल्याएर छाडेका थिए । त्यसमध्ये अधिकांश चन्द्रनगरका थिए । भारतीय सुरक्षाकर्मीले सीमामा छाडेकामध्ये केही लुकिछिपी गाउँ आउन सफल भएका थिए भने केहीलाई स्थानीय प्रशासनको पहलमा क्वारेन्टाइनमा राख्ने गरी पुनः भारततर्फ नै फकाइएको थियो ।
चन्द्रनगरमा लुकिछिपी गाउँ आएका सय भन्दा बढीलाई दुई साता क्वारेन्टाइनमा राखेर घर पठाइसकिएको छ । दशगजाबाट फर्काइएका व्यक्तिका परिवारले बिहिवार दिउँसो गाउँपालिका कार्यालयमा पुगेर घरमुली नहुँदा चुल्हो बल्नै गाह्रो परेको भन्दै तुरुन्त घर फर्काइदिन माग गरेका हुन् । महिला, बालबालिका सहित झण्डै दुई सय जना गाउँपालिका कार्यालय पुगेका थिए ।
तराईको अति पिछडिएको मुसहर समुदायले राहतमा पाएको थोरै चामल, दाल पनि खाएर सक्किसकेकाले भोकभोकै बस्नु परेको गुनासो गरेका छन् । केही दिनअघि राहतमा पाएको सबै खाद्यान्न सकिएको र राहत वितरण गर्दा पनि वडाध्यक्ष निकटका मानिसलाई प्राथमिकता दिएर बाँडिएको गाउँपालिका घेराउ गर्न पुगेका चन्द्रनगर गाउँपालिका–६, कामदका महज्रा माझीले गुनासो गरे ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले भारतमा ठूलो सङ्ख्यामा अलपत्र परेका स्थानीय वासिन्दालाई तत्काल गाउँ ल्याउन सम्भव नरहेको बताए । नेपालमा रहेका भारतीयलाई नेपालमै राख्ने र भारतमा रहेकालाई उतै क्वारेन्टाइनमा राख्ने सहमति माथिल्लो स्तरमै भएकाले पनि गाउँपालिकाले चाहादैमा भारतमा अलपत्र परेका सबैलाई ल्याउन सक्ने अवस्था नरहेको उनको भनाई छ । तर पनि यहाँ रहेका मुसहर समुदायको जनजीविकालाई सहज बनाउन गाउँपालिकाले पहल गर्ने उनले बताए ।

गाउँपालिका भित्र ठूलो सङ्ख्यामा अति विपन्न र पिछडिएको मुसहर समुदायको बसोवास रहेकाले राहत बाँडेर छाक पु¥याउन मुस्किल पर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष महतोले उज्यालो अभियानसँगको सम्वादमा गुनासो गरे ।