लालबन्दी खानेपानी शुल्क : १० हजार युनिट सम्मको २ सय रुपैयाँ लिन सुझाव

वुधवार आयोजित सर्वपक्षिय छलफल । तस्बिर सौजन्य : संस्थाका अध्यक्ष बासुदेव अधिकारीको फेसबुकबाट


जनार्जन खत्री / लालबन्दी – सर्लाहीको लालबन्दीमा खानेपानी शुल्क अत्यन्त चर्को भएको जनगुनासो आएपछि हिजो (वुधवार) सर्वपक्षिय छलफल गरिएको छ ।
लालबन्दी नगरपालिकाको सभा हलमा सरोकारवालासँग छलफल गरी राय लिइएको लालबन्दी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष बासुदेव अधिकारीले उज्यालो अभियानसँग बताए । छलफलमा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेची लुंगेली, नगरका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालाहरु सहभागी भएका थिए । सहभागीहरुले नागरिकलाई मार नपर्ने गरी सुलभ शुल्क हुनुपर्नेमा जोड दिए ।
सर्वपक्षिय छलफलले यसबारेमा नगरप्रमुख, उपप्रमुख र दलका प्रतिनिधि बसेर थप छलफल गर्न सुझाव दिएको र आज (बिहिवार) उनीहरुसँग छलफल गर्ने संस्थाका अध्यक्ष अधिकारीले जानकारी गराएका छन् । अधिकारीका अनुसार वुधवारको छलफलमा १० हजार युनटिसम्मको २ सय रुपैयाँसम्म लिन सुझाव आएको छ ।
लालबन्दीकै गौरबको आयोजनाको रुपमा लिइएको खानेपानी आयोजनाले वितरण गरेको खानेपानीको शुल्क ज्यादै नै महँगो भएको भन्दै जनस्तरबाट व्यापक विरोध भइरहेको छ । लालबन्दी नगरपालिका अन्तर्गत साबिकको लालबन्दी, पत्थरकोट र जब्दी गाविसमा खानेपानी वितरण गर्ने लक्ष्य लिइएको यस आयोजनाको हालसम्म ९६ प्रतिसत काम भइसकेको छ । उच्च भागमा पर्ने वडा नं. १२ र १३ पत्थरकोट क्षेत्रबाहेक अन्य वडामा केही महिना अघिदेखिनै धारा जडान गरेर पानी वितरण गर्न थालि सकिएको छ ।
कुल ८७ करोड ६४ लाख ३३ हजार ६ रुपैयाँ अनुमानित लागत रहेको आयोजनाको काम गर्ने ठेकेदारलाई हालसम्म ७५ करोड ८० लाख ५० हजार ३ सय ५० रुपैयाँ भुक्तानि गरिएको संस्थाले जनाएको छ ।