logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा आज बरहथवा, मलंगवा र लालबन्दीका गरी आठजनामा कोरोना भाईरस पोजेटिभ


  • उज्यालो अभियान

हरिवन – आज (सोमबार) सर्लाहीको बरहथवा, लालबन्दी र मलंगवा नगरपालिकामा गरी आठजनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

हेटौंडास्थित ल्याबबाट आज (सोमबार) प्राप्त थ्रोट स्वाब परीक्षण रिपोर्ट अनुसार लालबन्दीका थप दुई जनामा संक्रमण पाइएको हो । एक हप्ताअघि पठाइएको १२३ जनाको स्वाबमध्ये दुई जनाको आज पोजिटिभ रिपोर्ट आएको नगरपालिकाको स्वास्थ्य शाखा सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए । संक्रमितहरु नगरपालिकामा कार्यालय सहयोगीको रुपमा कार्यरत वडा नं. १० का ४४ वर्षीय एक जना पुरुष र वडा नं. ७ की ४० वर्षीया महिला हुन् । संक्रमित कार्यालय सहयोगी केही दिन अघि तरकारी बजार क्षेत्रमा भीड नियन्त्रणमा समेत खटिएका थिए ।

त्यस्तै संक्रमित महिलाको श्रीमान यसअघि नै संक्रमण पुष्टी भएर आइसोलेसनमा बसिरहेका छन् । श्रीमानमा संक्रमण पाइएपछि कन्टयाक टे«सिङ आधारमा स्वाब लिएर परीक्षण गर्दा श्रीमतीमा पनि संक्रमण पाइएको हो । आज संक्रमण पुष्टी भएका दुवै जनालाई नवलपुरस्थित कृषि सामग्री कम्पनि लिमिटेडको आइसोलेसनमा लगेर राखिसकिएको छ । थपिएका दुई जना नयाँ संक्रमितसँगै लालबन्दीमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । यहाँबाट अघिल्लो शनिवार जनकपुरस्थित ल्याबमा पठाइएको ६१ जनाको स्वाबमध्ये अझै दुई जनाको रिपोर्ट आएको छैन् । नगरपालिकाले भोली (मंगलबार) पनि थप व्यक्तिहरुको स्वाब संकलन गर्ने तयारी गरिरहेको नगर प्रमुख मानबहादुर खड्काले बताएका छन् ।

त्यस्तै बरहथवा नगरपालिकाका थप पाँच जनामा आज (सोमबार) कोरोना भाईरस पोजेटिभ देखिएको छ । यो सँगै बरहथवामा पछिल्लो पटक संकलन गरेर पठाईएको ३०८ जनाको स्वाब मध्ये ५२ जना संक्रमित फेला परिसकेका छन् । उक्त स्वाब मध्ये ६५ जनाको अझै परीक्षण गर्न बाँकी रहेको बरहथवा नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब विरेन्द्र साहले जानकारी दिए । साहका अनुसार सोमबार ११ जनाको पोजेटिभ रिपोर्ट आएपछि ६ जना भने यसअघिकै संक्रमितहरुको पुनः पोजेटिभ आएको हो । सोमबार थपिएका सबैं संक्रमितहरु बरहथवा नगरपालिका–१७, श्रीपुर गाउँका रहेको साहले जानकारी दिए ।

बरहथवा नगरपालिकामा वडाध्यक्ष सहित उनीहरुका परिवारका सदस्य, व्यापारी, औषधी पसले, बैंक तथा वितिय संस्थाका कर्मचारी, सर्वसाधारण लगायतमा कोरोना भाईरस संक्रमण देखिएको छ । गाउँ गाउँमै कोरोना भाईरसका संक्रमित देखिन थाल्नुले समुदाय स्तरमै संक्रमण फैलिएको स्पष्ट भएको जानकारहरु बताउँछन् । सिनियर अहेब साहका अनुसार बरहथवा नगरपालिकामा मात्रै हालसम्म १३२ जना कोरोना भाईरसबाट संक्रमित भईसकेका छन् ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय मलंगवालाई प्राप्त विवरण अनुसार आजै सदरमुकाम मलंगवामा पनि एक जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना भाईरस संक्रमण हेर्ने फोकल पर्सन सुशिल झाले प्रदेशबाट सर्लाहीको बरहथवामा ११ जना, लालबन्दीमा ३ जना, हरिपुरमा एकजना, मलंगवामा एकजना तथा ठाउँ नखुलेको दुईजना संक्रमित भनेर खबर आएको र अब ठाउँ खुलाउन र आएको सबै नयाँ हो की पूरानो संक्रमितको पनि फेरि पोजेटिभ आएको हो भन्ने पत्ता लगाउने कार्य भईरहेको जानकारी दिए । पहिला सबै ल्याबहरुबाट सिधै आफूहरुलाई पनि मेल आउने गरेकामा पछिल्लो समय भने सम्बन्धित पालिकाका स्वास्थ्य शाखालाई मात्र मेल आउने गरेकाले एक–एक स्थानीय तहलाई सोधेर तथ्यांक लिनुपर्दा आधिकारिक संख्या र विवरण जानकारी दिन ढिलाई हुने गरेको झाको गुनासो छ ।

सोमबार थप आठजनालाई जोड्दा मात्र पनि हालसम्म सर्लाहीमा ९८२ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।