वडाध्यक्ष टोपबहादुर श्रेष्ठ ।
जनार्जन खत्री, लालबन्दी – सर्लाहीको लालबन्दीमा थप अर्का एक जना वडाध्यक्षमा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
साउन २४ गते थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि जनकपुर पठाइएकोमध्ये लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका वडाध्यक्ष टोपबहादुर श्रेष्ठको पोजिटिभ रिपोर्ट आएको हो । सुक्रवार दिउँसो पोजिटिभ रिपोर्ट आउनासाथ वडाध्यक्ष श्रेष्ठ आफै स्कुटर चलाएर नवलपुरस्थित कृषि सामग्री कम्पनि लिमिटेडको आइसोलेसनमा गई बसिसकेका छन् ।
रिपोर्ट पोजिटिभ आएपनि आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष श्रेष्ठले उज्यालो अभियानसँग बताए । यसअघि लालबन्दी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठसहित प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी र बजारमा कपडा पसल चलाएर बस्ने एक महिला गरी तीन जनामा कोरोना संक्रमण पाइएको थियो ।
त्यस लगत्तै उनीहरुको परिवारका सदस्य र सम्पर्कमा आएकाहरु समेत गरी ६१ जनाको स्वाब लिएर परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । त्यसमध्ये सुक्रवार एक जनाको पोजिटिभ रिपोर्ट आएपनि अन्यको भोली मात्रै परीक्षण हुने जनकपुर ल्याबबाट जानकारी आएको लालबन्दी नगरपालिकाको स्वास्थ्य संयोजक सूर्यनारायण चौधरीले जानकारी दिए ।
यस्तै सोमवार हेटौंडाको ल्याबमा पठाइएको स्वाबको पनि रिपोर्ट आएको छैन् । रिपोर्ट आउन यत्तिका दिनसम्म लाग्दा यस बीचमा स्वाब दिएकाहरु जथाभावी हिँडिसकेकाले जोखिम अझ बढेको छ ।
यसैबीच स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा सुक्रवार पनि हेटौंडा र टेकुको ल्याबमा पनि सर्लाहीको केही पोजिटिभ केस आएको जानकारी गराइएको छ । तर जिल्लामा अहिले साँझसम्म थप संक्रमितहरुबारे आधिकारिक जानकारी आइसकेको छैन् ।
बिहिवार जिल्लामा थपिएका ३६ जना संक्रमित बारे राती अबेर मात्रै विवरण आएको जिल्ला प्रशासन कार्यालय मलंगवाका सूचना अधिकारी राम प्रमोद यादवले बताए । हालसम्म ८९९ जनामा कोरोना संक्रमण देखिएको सर्लाहीमा अहिले १६० जना संक्रमित सक्रिय अर्थात जिल्लाकै आइसोलेसनमा छन् । जिल्ला बाहिरका आइसोलेसनमा २१ जना रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै १८२ जना क्वारेन्टिनमा रहेका छन् ।