मलंगवा

मलंगवा – कोरोना भाइरसको संक्रमणबाट समुदायलाई बचाउन भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको ‘लकडाउन’ आदेश अनुसार बुधबार बिहानदेखि सर्लाहीका बजारहरु सुनसान बनेका छन् ।

चौक चौराहा एवं सडकहरुमा सार्वजनिक र निजी सवारी साधनको चहलपहल ह्वात्तै घटेको छ । पसल तथा होटलहरु पनि अत्यन्त कम खुलेका छन् । आज (बुधबार) बाट ७ दिन अर्थात साउन २७ गतेसम्मका लागि अत्यावश्यक बाहेकका काम तथा आवतजावतमा रोक लगाउने भन्दै मंगलबार दिउँसो प्रशासन कार्यालयले आदेश जारी गरेको थियो ।

छिमेकी जिल्लाहरुमा कोरोना भाईरसका संक्रमितहरु ह्वात्तै बढिरहेको र सर्लाहीमा भने १५ दिनदेखि परीक्षण नै हुन नसकेकाले समुदायमा भुसको आगो जस्तो भित्रभित्रै कोरोना भाईरस फैलिएको हुन सक्ने आशंका सहित तत्काललाई अत्याबश्यक बाहेकका काम बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘अत्यावश्यक बाहेकका काम रोक्ने आदेश भएकाले यसलाई लकडाउनको रुपमा पनि बुझ्दा हुन्छ’, प्रजिअ पौडेलले उज्यालो अभियानसँग भने, ‘जिल्लाका सबै पालिका प्रमुखहरुले पनि कडाई नगरे स्थिती भयावह हुने भन्दै त्यस्तो आदेश जारी गर्न आग्रह गरिरहनु भएको थियो, त्यस्तै जिल्लाका २० वटै पालिकाहरुले नै तत्काल समुदायको बढी भिडभाड हुने स्थानमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, बैंकका कर्मचारी लगायत कम्तिमा ३०० जनाको स्वाब संकलन गरेर परीक्षण गर्ने समेत विपद व्यवस्थापन समितिको बैठकले दुई दिनअघि नै निर्णय गरिसकेको छ ।’

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि अत्यावश्यकबाहेकका कामकाज गर्न रोक लगाइएको आदेशमा भनिएको छ । सर्लाहीमा मंगलबारसम्म ७२३ जना कोरोना भाईरसबाट संक्रमित भईसकेका छन् । जसमध्ये ६८८ जना निको भएर घर फर्किसकेका छन् भने ३० जना सदरमुकाम मलंगवा स्थित नर्सिङ कलेजको आईसोलेसन तथा ५ जना जिल्ला बाहिर आईसोलेसनमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तस्बिरहरु : टंकबहादुर क्षेत्री/अच्युतकुमार सापकोटा/रोशनकुमार न्यौपाने/घनश्याम बलम्पाकी/प्रकाश मैनाली
